रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारसम्म स्ट्रेट अफ होर्मुज नखोले इरानका नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा कडा शब्द प्रयोग गर्दै ट्रम्पले पुल र विद्युत केन्द्रजस्ता संरचनालाई निशाना बनाइने बताएका हुन्। उनले मंगलबारलाई ‘पावर प्लान्ट डे’ र ‘ब्रिज डे’ भन्दै जलडमरूमध्य तत्काल खोल्न आग्रह गरेका छन् ।
यसअघि मार्च २६ मा ट्रम्पले इरानलाई १० दिनको समयसीमा दिँदै हर्मुज पुनः सञ्चालन गर्न अल्टिमेटम दिएका थिए। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण यो मार्ग फेब्रुअरी २८ देखि अमेरिका–इजरायल आक्रमणपछि प्रभावित बनेको छ ।
ट्रम्पले फक्स न्यूजसँग कुरा गर्दै इरानसँग वार्ता जारी रहेको र समयसीमाभित्र सम्झौता सम्भव रहेको दाबी गरे । इरानले भने अमेरिकी चेतावनीको कडा आलोचना गर्दै कुनै पनि आक्रमणको जवाफ दिने जनाएको छ। संयुक्त राष्ट्रसंघस्थित इरानी मिशनले अमेरिकी राष्ट्रपतिले नागरिक जीवनसँग सम्बन्धित पूर्वाधार नष्ट गर्ने धम्की दिएको आरोप लगाएको छ ।
इरानी राष्ट्रपति कार्यालयका अधिकारी सेय्यद मेहदी तबाताबेईले युद्धबाट भएको क्षतिपूर्ति प्राप्त भएपछि मात्र जलडमरूमध्य खोलिने बताएका छन् । उनले नयाँ कानुनी व्यवस्थामार्फत जहाजहरूबाट शुल्क उठाइने संकेत पनि दिएका छन् ।

प्रतिक्रिया