इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैनः इरान


तेहरान । इरानले युद्धविरामका लागि आग्रह गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले खण्डन गरेको छ।

इरानले युद्धविरामका लागि गरेको अनुरोधबारे ट्रम्पको अभिव्यक्ति ‘असत्य’ र ‘आधारहीन’ रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले बताएका हुन् ।

यसअघि, राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

“इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गर्नुभएको छ,” राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन् ।

उनले थप लेखेका छन्, “स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।” राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।