जापानद्वारा पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ


टोकियो । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ । अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल सञ्चालनमा ल्याइएको हो, जसले देशको आक्रामक क्षमतामा उल्लेखनीय विस्तार गरेको सङ्केत दिएको छ ।

जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित उक्त मिसाइलको दायरा करिब एक हजार किलोमिटर पुगेको छ । यो यसको पुरानो २०० किलोमिटर क्षमताभन्दा निकै ठूलो विस्तार हो । यसले जापानलाई टाढाबाटै सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ । यस्तो क्षमता जापानले दशकौँदेखि पालन गर्दै आएको आत्मरक्षा–केन्द्रित सुरक्षा नीतिमा परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ ।

रक्षामन्त्री सिन्जिरो कोइजुमीले वर्तमान सुरक्षा वातावरणलाई ‘युद्धपछिको सबैभन्दा जटिल र गम्भीर’ भन्दै यस्तो क्षमता देशको प्रतिरोध शक्ति र प्रतिक्रिया क्षमताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार यसले जापानको आत्मरक्षाप्रतिको दृढता पनि झल्काउँछ ।

तर यस कदमले स्थानीयस्तरमा चिन्ता पनि बढाएको छ । क्याम्प केङ्गुन नजिकै बसोबास गर्ने बासिन्दाहरूले मिसाइल तैनाथीको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले यस्तो कदमले क्षेत्रीय तनाव चर्काउने र आफ्नो क्षेत्र सम्भावित आक्रमणको लक्ष्य बन्न सक्ने जोखिम बढाउने बताएका छन् ।

जापानले केवल एक स्थानमा मात्र नभइ, आगामी वर्षहरूमा देशका विभिन्न भागमा यस्ता हतियार प्रणाली विस्तार गर्ने योजना बनाएको छ । मङ्गलबार नै सिजुओका प्रान्तको क्याम्प फुजीमा टापु रक्षा लक्षित हाइपरसोनिक ग्लाइड वाहन पनि तैनाथ गरिएको छ । सन् २०२८ मार्चसम्म होक्काइडोदेखि मियाजाकीसम्म विभिन्न स्थानमा अपग्रेड गरिएको टाइप–१२ मिसाइल र अन्य आधुनिक प्रणालीहरू विस्तार गर्ने तयारी गरिएको छ ।

यसैबीच जापानले अमेरिकी निर्माणका टोमहाक क्रूज मिसाइलहरू पनि आफ्नो नौसैनिक क्षमतामा समावेश गर्ने योजना अघि बढाएको छ । यस वर्षको अन्त्यसम्म जापानी विध्वंसक जेएस चोकाईमा एक हजार ६०० किलोमिटर दायराका ती मिसाइलहरू तैनाथ गरिनेछ भने पछि थप सात विध्वंसकमा पनि विस्तार गरिने लक्ष्य राखिएको छ ।

जापानले चीनलाई आफ्नो प्रमुख क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिँदै आएको छ । पछिल्ला वर्षहरूमा पूर्वी चीन सागर नजिकका दक्षिणपश्चिमी टापुहरूमा सैन्य संरचना मजबुत बनाइएको छ । गत जुनमा चीनका दुई विमानवाहक जहाजहरू जापानका दुर्गम टापु नजिकै एकैपटक सञ्चालनमा देखिएपछि टोकियोको चिन्ता अझ बढेको थियो ।

प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ९० खर्ब येनभन्दा बढीको रक्षा बजेट स्वीकृत गरिसकेको छ, जसले स्ट्राइक ब्याक क्षमता, क्रूज मिसाइल र मानव रहित हतियार प्रणालीमार्फत तटीय सुरक्षालाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।

यसै क्रममा चीनको प्रशान्त क्षेत्रमा बढ्दो गतिविधि अध्ययन गर्न नयाँ कार्यालय स्थापना गर्ने घोषणा पनि गरिएको छ । ताइवानसँग सम्बन्धित सम्भावित सङ्कटको अवस्थामा जापानले आफ्नो सुरक्षा प्रतिक्रिया देखाउन सक्ने सङ्केत दिँदा क्षेत्रीय वातावरणमा सतर्कता र चिन्ता बढेको देखिन्छ ।