इरान द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको तयारी


रोयटर्स । इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले पाकिस्तानले छिट्टै ‘अर्थपूर्ण शान्ति वार्ता’ आयोजना गर्ने तयारी गरेको जनाएको छ । तर, तेहरानले अमेरिकाले स्थलगत सैनिक परिचालन गरेमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

क्षेत्रीय विदेशमन्त्रीहरूबीच भएको छलफलपछि पाकिस्तानका विदेशमन्त्री इशाक डारले द्वन्द्वलाई छिटो र स्थायी रूपमा अन्त्य गर्ने उपाय तथा इस्लामाबादमा सम्भावित अमेरिका–इरान वार्ताबारे चर्चा भएको जानकारी दिए ।

‘दुई पक्षबीच जारी द्वन्द्वको दीर्घकालीन समाधानका लागि आगामी दिनमा अर्थपूर्ण वार्ता आयोजना गर्न पाकिस्तान तयार छ,’ उनले भने । यद्यपि, अमेरिका र इरान वार्तामा सहभागी हुने वा नहुनेबारे अझै स्पष्ट भएको छैन ।

अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसबीच, इरानी संसदका सभामुख मोहम्मद बाकेर कालिबाफले अमेरिकाले वार्ताको संकेत दिँदै एकैसाथ सैनिक पठाउने योजना बनाइरहेको आरोप लगाए । उनले अमेरिकी सेना परिचालन भएमा इरानले जवाफ दिन तयार रहेको बताए ।

‘हामी कहिल्यै आत्मसमर्पण गर्ने छैनौं,’ उनले राष्ट्रलाई सम्बोधन गर्दै भने । पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टबीच प्रारम्भिक छलफल हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने विषयमा केन्द्रित रहेको बताइएको छ ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले तेल तथा ग्यास ढुवानी हुने उक्त मार्ग प्रभावकारी रूपमा अवरुद्ध गरेको छ, जसले विश्व अर्थतन्त्रमा असर पारेको छ ।

द्वन्द्व दोस्रो महिनामा प्रवेश गर्दा पनि शान्त हुने संकेत देखिएको छैन । इजरायलले पछिल्लो २४ घण्टामा तेहरानसहित इरानका विभिन्न क्षेत्रमा १४० भन्दा बढी हवाई आक्रमण गरेको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार मेहराबाद विमानस्थल र तब्रिजस्थित पेट्रोकेमिकल उद्योगमा आक्रमण भएको छ ।