बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले शान्ति वार्तामा भाग लिइरहेको र गत महिना इजरायल र अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्न सम्झौता गर्न आतुर रहेको बताएका छन् । इरानले भने त्यसलाई प्रस्ट रूपमा अस्वीकार गरेको छ ।
बुधबार इरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाले विभिन्न प्रस्तावहरू सहितसन्देश पठाए तापनि कुनै वार्ता नभएको बताएका छन् । अब्बास अराग्चीले वाशिङटनले वार्ताको कुरा गर्नु र अब बिनासर्त आत्मसमर्पणको माग नगर्नु हार स्वीकार्नु रहेको बताउँछन् ।
उनले तेहरानले युद्ध आफ्ना सर्तहरू अनुरूप सकियोस् भन्ने चाहेको बताउँदै त्यसमा अमेरिका र इजरायलले फेरि आक्रमण नगर्ने सुनिश्चितता र इरानीहरूले भोगेको क्षतिको क्षतिपूर्ति समावेश रहेको बताए । ट्रम्पले इरानले ‘वार्ता गरिरहेको’ कुरामा जोड दिँदै ‘उनीहरू आफ्नै मानिसहरूद्वारा मारिने बुझेर त्यसो भन्न डराइरहेको’ बताएका छन्। उनले थपे, ‘उनीहरू हामीबाट मारिने कुराले पनि डराउँछन्।’
बुधबार बोल्दै ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले विगत तीन दिनदेखि इरानसँग ‘उपयोगी वार्ता’ मा व्यस्त रहेको बताइन् । उनले अमेरिकी कारबाही ‘तालिकाभन्दा अगाडि’ रहेको र इरानी सत्ताले ‘फर्कने बाटो’ खोजिरहेको बताइन् । उक्त भनाइ इरानी विदेशमन्त्री अब्बास अराग्चीको अभिव्यक्तिको लयको पूरै विपरीत छ।
अराग्चीले ‘हाल वार्ताको कुनै मनसाय नभएको’ र देशले आफ्नो ‘प्रतिरक्षा’ गरिरहने बताएका छन् । उनले अमेरिका र इरानबीच ‘मित्र राष्ट्रहरू’ मार्फत् आदानप्रदान भएका सन्देशहरूलाई ‘संवाद’ मान्न नसकिने बताए।

प्रतिक्रिया