तेहरान युद्ध अन्त्य गर्न आतुर रहेको ट्रम्पको दाबी


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे अहिले कुराकानी चलिरहेको बताएका छन् । इरानी अधिकारीहरूले वार्ताका विवरणहरूलाई ‘भ्रामक समाचार’ भन्दै अमेरिकासँगको सम्पर्क अस्वीकार गरेको भोलिपल्ट ट्रम्पको यो भनाइ आएको हो । इरानले तेल बजारलाई प्रभावित तुल्याउन त्यसो भनिएको आरोप लगाएको थियो ।

ट्रम्पको पछिल्लो वक्तव्यको प्रभाव एशियाली तेल बजारमा बुधवार बिहानैबाट देखिएको छ । भर्खरै आएका विवरणहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले झरेर ९७.६५ अमेरिकी प्रतिब्यारल भएको छ। मङ्गलबार उक्त मूल्य १०० डलरभन्दा माथि थियो ।

त्यस्तै अमेरिकामा कारोबार हुने तेलमा पनि ६ प्रतिशतको गिरावट देखिएको विवरणहरू आएका छन् ।यद्यपि यी मूल्य इरान युद्ध सुरु हुनुअघिको तुलनाका निकै नै धेरै हुन् । द्वन्द्वले विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ र हालैका साताहरूमा विश्वभरका सरकारहरूले आफ्नो अर्थतन्त्रमा पर्ने प्रभावलाई कम गर्ने उद्देश्यले विभिन्न उपायहरूको घोषणा गरिरहेका छन् ।

ट्रम्पले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुविओ उक्त छलफलमा संलग्न रहेका पनि बताए । त्योसँगै ट्रम्पले इरानी सत्ता कहिल्यै परमाणु हतियार नबनाउनेबारे सहमत भएको पनि दोहोर्याए। उनले यस्तो दाबी पहिले पनि गरेका थिए।

राष्ट्रपति ट्रम्पले तेहरानमा गरिएको हमलाले ‘सत्ता परिवर्तन’ निम्त्याएको पनि बताए । उनले इरानी वार्ताकारहरूद्वारा अमेरिकालाई दिइएको एउटा ‘निकै महत्त्वपूर्ण पुरस्कार’को सङ्केत पनि गरे जुन उनका अनुसार तेल र ग्यास तथा होर्मुज स्ट्रेटसँग सम्बन्धित छ । यद्यपि त्यसबारे थप विवरण दिइएको छैन।