बीबीसी । कोलम्बियाको वायुसेनाको विमान देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
वायुसेना प्रमुख कार्लोस फर्नान्डो सिल्भा रुएडाका अनुसार विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए । अमेरिकामा निर्मित हरक्युलिस विमान पुटुमायो प्रान्तको पुएर्टो लेगुइजामो नजिक खसेको हो । विमान सैनिक ढुवानीका लागि प्रयोग हुँदै आएको थियो ।
घटनास्थलमा खटिएका उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ । कोलम्बियाका रक्षा मन्त्री पेड्रो सान्चेजले पुएर्टो लेगुइजामोबाट उडान भर्दै गर्दा सुरक्षा बलका सैनिक बोकेर जाँदै गरेको विमान ‘दुःखद दुर्घटना’मा परेको बताएका छन्।
पेरुसँगको सीमाना नजिक भएको यो घटना देशका लागि ‘अत्यन्तै दुःखद’ भएको उनले बताए । पछि उनले विमानमा लागेको आगलागीका कारण बोकेको हतियार–गोला विस्फोट भएको जानकारी दिए ।
समाचार संस्था एएफपीका अनुसार एक सैन्य स्रोतले ५८ सैनिक, ६ जना वायुसेना कर्मचारी र २ जना प्रहरीको मृत्यु भएको जनाएको छ । यो घटना कोलम्बियाको वायुसेनाको हालैको इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक भएको जनाइएको छ ।

प्रतिक्रिया