इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नदोहोर्याउन इजरायललाई ट्रम्पको चेतावनी


रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नदोहोर्याउन आग्रह गरेका छन् । ऊर्जा संरचनामाथि भइरहेको प्रतिशोधात्मक आक्रमणका कारण मूल्य तीव्र रूपमा बढ्दै जाँदा अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले सुरु गरेको सैन्य कारबाहीपछि जारी द्वन्द्वले हजारौंको ज्यान लिइसकेको छ भने छिमेकी राष्ट्रहरूमा फैलँदै विश्व अर्थतन्त्रमा समेत असर परेको छ।

बिहीबार इरानले कतारस्थित ग्यास प्रशोधन केन्द्रमा आक्रमण गरेपछि ऊर्जा बजारमा ठूलो उतारचढाव आएको छ। विश्वको ठूलो भाग तरल प्राकृतिक ग्यास प्रशोधन हुने उक्त क्षेत्रमा पुगेको क्षतिले मर्मतमा वर्षौं लाग्ने अनुमान गरिएको छ।

यसैबीच, रेड सी किनारमा रहेको साउदी अरबको प्रमुख बन्दरगाहमा पनि आक्रमण भएको छ।  ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग ऊर्जा संरचनामाथि आक्रमण नदोहोर्याउन आग्रह गरेको बताएका छन्। ‘मैले भनेँ—त्यो नगर्नू, र उनले अब त्यसो गर्ने छैनन्,’ उनले पत्रकारहरूसँग भने।

यद्यपि, अमेरिकी प्रशासनले मध्यपूर्वमा थप सेना पठाउने विषयमा छलफल गरिरहेको जनाइएको छ। तर ट्रम्पले स्थलसेना पठाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।

इजरायलले इरानको साउथ पार्स ग्यास क्षेत्रमा गरिएको आक्रमण आफूले एक्लै गरेको जनाएको छ। नेतन्याहुले ट्रम्पको आग्रहपछि यस्ता आक्रमण स्थगित गरिने संकेत दिएका छन्।

यसैबीच, इरानले इजरायलतर्फ पुनः मिसाइल प्रहार गरेको छ। इजरायली सेनाका अनुसार पछिल्लो २४ घण्टामा १३० भन्दा बढी आक्रमण गर्दै विभिन्न सैन्य संरचनालाई निशाना बनाइएको छ।