इरानी गुप्तचर मन्त्री इस्माइल खतिबको मृत्यु


जेरुसेलम । इरानका अर्का वरिष्ठ अधिकारी गुप्तचर मन्त्री इस्माइल खतिबको अमेरिकी–इजरायली कारबाहीमा मृत्यु भएको इजरायलले बुधबार जानकारी गराएको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले खतिबमाथिको कारबाहीलाई ‘कायरतापूर्ण हत्या’ को संज्ञा दिएका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमा आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या गरेपछि मध्यपूर्वमा युद्ध सुरु भएको थियो ।

इरानी सुरक्षा प्रमुख अली लारीजानी इजरायली आक्रमणमा मारिएको पुष्टि भएको भोलिपल्ट खतिबको मृत्युको खबर आएको हो।

इजरायलका रक्षामन्त्री इजरायली काट्जले खतिबको मृत्युको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मैले आइडिएफलाई कुनै पनि वरिष्ठ इरानी अधिकारीलाई थप स्वीकृतिको आवश्यकता बिना मार्नसक्ने आदेश दिएका छौँ, जसका लागि गुप्तचर र परिचालन सर्कल बन्द गरिएको छ । हामी तिनीहरूलाई असफल पार्न र ती सबैविरूद्ध हमला जारी राख्नेछौँ।’

इजरायलले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि खोज्ने वाचा गरेको छ, उनी आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा परेका छैनन् ।