इरानका सुरक्षा प्रमुख तथा बासिज कमाण्डर मारिएको इजरायलको दाबी


तेलअविव । इजरायलले इरानका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानी तथा आन्तरिक बासिज मिलिसियाका कमाण्डर घोलामरेजा सोलैमानी मारिएको दाबी गरेको छ । इजरायलका रक्षा मन्त्री इस्राएल कट्जले दुई उच्चस्तरीय व्यक्तिको हत्या गरिएको बताएका हुन् ।

यद्यपि, इरानले यसबारे अहिलेसम्म कुनै पुष्टि वा प्रतिक्रिया जनाएको छैन । इरानी सरकारी सञ्चारमाध्यमले भने लारिजानीको हस्तलिखित नोट सार्वजनिक गरेका छन् । उक्त नोटलाई उनको जीवित भएको प्रमाणका रूपमा प्रस्तुत गर्न खोजिएको हो वा होइन भन्ने स्पष्ट छैन। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नोटमा लारिजानीले अमेरिकी आक्रमणमा मारिएका इरानी जलसेनाका सदस्यहरूको सम्झना गरेका छन्, जसको अन्त्येष्टि मंगलबार हुने अपेक्षा गरिएको छ।

यदि लारिजानीको मृत्यु पुष्टि भएमा, फेब्रुअरी २८ मा सुरु भएको युद्धको पहिलो दिन अमेरिका–इजरायलको संयुक्त आक्रमणमा पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनका परिवारका सदस्यहरू मारिएपछि यो सबैभन्दा उच्च तहको हत्या हुने बताइएको छ।

लारिजानीलाई अन्तिमपटक गत शुक्रबार तेहरानमा प्यालेस्टिनीहरूको समर्थनमा आयोजित ‘अल–कुद्स दिवस’ र्यालीमा इरानका राष्ट्रपति मसुद पेजेस्कियनसँगै सार्वजनिक रूपमा देखिएको थियो ।

लारिजानी लामो समयदेखि इरानको राजनीतिक संरचनामा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिँदै आएका थिए । उनी एक समय पश्चिमसँग इरानको आणविक वार्ताका प्रमुख वार्ताकार थिए भने यसअघि इरानी संसदका सभामुख पनि रहिसकेका छन् ।

सन् १९५८ मा इराकको नजफमा जन्मिएका लारिजानी इरानको राजनीतिमा सन्तुलित र व्यावहारिक नेताका रूपमा चिनिन्थे । उनलाई इरानको शक्तिशाली परिवारको सदस्य मानिन्छ । लारिजानीले गणित र कम्प्युटर विज्ञानमा स्नातक गरेपछि इमानुएल कान्टको दर्शनमा विद्यावारिधि गरेका थिए ।

यसैबीच, इजरायली सेनाले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै बासिज एकाइका कमाण्डर घोलामरेजा सोलैमानीलाई पनि मारिएको दाबी गरेको छ। सेनाका अनुसार सैन्य गुप्तचरको सटीक सूचनाका आधारमा वायुसेनाले सोमबार तेहरानको केन्द्रमा लक्षित आक्रमण गरी सोलैमानीलाई निष्क्रिय बनाएको हो ।