ड्रोन आक्रमणपछि दुबई विमानस्थल नजिक आगलागी, उडान अस्थायी रूपमा स्थगित


दुबई । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक सोमबार भएको ड्रोन आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।

दुबई मिडिया अफिसका अनुसार विमानस्थल आसपास क्षेत्रमा भएको ड्रोन आक्रमणले इन्धन भण्डारण ट्याङ्कमध्ये एउटामा असर गरेको थियो। घटनापछि केही समयका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरिएको जनाइएको छ । एमिरेट्स एयरलाइन्सले पनि सामाजिक सञ्जाल एक्समार्फत दुबई आउने र जाने उडानहरू अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रका देशहरूले दुई हजारभन्दा बढी मिसाइल तथा ड्रोन आक्रमण सामना गरेका छन्। ती आक्रमणहरूको लक्ष्य अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डासँगै खाडी क्षेत्रका महत्वपूर्ण तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत रहेका छन् ।

सन् २०२० मा इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेको संयुक्त अरब इमिरेट्सले ती आक्रमणको मुख्य भार बेहोरेको बताइएको छ। यद्यपि सबै खाडी अरब राष्ट्रहरू यसबाट प्रभावित भएका छन् र सबैले इरानको निन्दा गरेका छन्।