मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु


नाइजेरिया । मध्य नाइजेरियाको एक गाउँमा बन्दुकधारी समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । स्थानीय विकास सङ्गठनले शनिबार दिएको जानकारीअनुसार उक्त घटनामा सुरक्षाकर्मी तथा गाउँलेहरू मारिएका छन् भने आक्रमणकारीहरूले गाईवस्तु र अन्य सम्पत्ति पनि लुटेर लगेका छन् ।

स्थानीयवासीहरूले ‘डाकू’ भनेर चिन्ने अपहरणकारी गिरोहहरूले नाइजेरियाका ग्रामीण बस्तीहरूमा लामो समयदेखि आतङ्क मच्चाइरहेका छन् । यी समूहहरूले प्रायः फिरौती असुल्न र लुटपाट गर्न सामूहिक अपहरण तथा सशस्त्र आक्रमण गर्ने गरेका छन् ।

पछिल्लो आक्रमण शुक्रबार मध्य नाइजेरियाको पठार राज्यमा भएको हो । कानम डेभलपमेन्ट एसोसिएसनले जारी गरेको विज्ञप्तिमा बन्दुकधारीहरूले नियमित गस्तीमा रहेका सैनिकमाथि अचानक आक्रमण गरेको उल्लेख गरिएको छ ।

सङ्गठनका अनुसार आकस्मिक आक्रमणपछि भएको गोली हानाहानमा १२ जना सुरक्षाकर्मी मारिएका छन् । उनीहरूसँगै आफ्नो गाउँको सुरक्षा गर्न पुगेका आठ जना स्थानीयवासी पनि घटनामा ज्यान गुमाएका छन् । “आकस्मिक आक्रमणपछि भएको दुर्भाग्यपूर्ण गोली हानाहानमा राष्ट्रले कर्तव्य निर्वाह गर्दै अन्तिम बलिदान दिने बहादुर सुरक्षाकर्मीहरू गुमाएको छ”, सङ्गठनले जनाएको छ ।