बीबीसी । इजरायलले इरान र लेबननमा थप क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायली सेनाले बेरुतको दक्षिणमा रहेका हिज्बुल्लाहका पूर्वाधार तथा तेहरानमा रहेका निशानाहरूमा ‘थप आक्रमण’ सुरु गरेको बताएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुजमा ‘कुनै पनि बारुदी सुरुङ नबिछ्याउन’ चेतावनी दिएपछि अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो सेनाले १६ इरानी बारुदी सुरुङ बिछ्याउने जहाजहरूलाई ‘सखाप’ पारेको जनाएको छ ।
तेल निर्यात हुने एउटा मुख्य जलमार्ग हर्मुजनजिकै माइन बिछ्याउने ती इरानी पानीजहाजहरू ध्वस्त पारेको अमेरिकी सेनाले बताएको हो । अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा राखेको एउटा भिडियो पोस्टमा कैयौँ डुङ्गाहरूमा प्रहार गरिएको र विस्फोट भएको देखाइएको थियो ।
ट्रम्पले इरानलाई उक्त जलमार्गमा माइन नबिछ्याउन चेतावनी दिएपछि यस्तो घटनाक्रम आएको हो। अमेरिकी चेतावनी त्यसो गर्दाको सैन्य परिणाम पहिले कहिल्यै नदेखिएको स्तरमा हुने भनिएको थियो ।
त्यसअघि ह्वाइटहाउसले ऊर्जा मन्त्री क्रिस राइटको सामाजिक सञ्जाल पोस्टसँग विरोधाभास हुने गरी उक्त जलमार्गमा कुनै पनि तेल ट्याङ्करहरूलाई ‘एस्कर्ट’ नगरिने बताएको थियो।
उक्त पोस्टले तेलको मूल्य घटाउन मद्दत गरे तापनि लगत्तै त्यो पुनः बढेको थियो । इरान युद्धका विकासक्रम बुधबार बिहानका कारोबारमा एसियाली बजार ठूलो अस्थिरतापछि तेलको मूल्य धेरै हदसम्म स्थिर देखिएको छ ।
अमेरिकामा व्यापार हुने कच्चा तेलको मूल्य हाल प्रति ब्यारल ८३.३५ अमेरिकी डलर छ जबकि एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’ करिब ८७.८८ अमेरिकी डलर छ।
सोमवार करिब १२० अमेरिकी डलरसम्म बढेको दुवैखाले भाउ घटेका छन्। तर युद्ध सुरु हुनुभन्दा पहिलेभन्दा तेलको मूल्य अझै पनि निकै माथि छ।
उक्त जलमार्ग ठप्प हुँदा त्यहाँबाट हुने खाडी क्षेत्रको तेल ढुवानी प्रभावित भएको छ र विश्वव्यापी आर्थिक चिन्ता निम्तिएको छ।
इरानको सरकारी प्रसारक आईआरआईबीले पछिल्लो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो तेहरानका हमला बताइरहँदा इजरायलभरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको छ।

प्रतिक्रिया