मध्यपूर्व युद्धप्रति चीनको कडा आपत्ति


बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा फैलिएको युद्धप्रति कडा असन्तोष व्यक्त गर्दै अन्तर्राष्ट्रिय विवाद समाधानका लागि शक्ति प्रयोगभन्दा संवाद र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले विशेष गरी अमेरिकासँगको सम्बन्ध व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुई शक्तिबीचको मतभेदलाई जिम्मेवार ढङ्गले सम्हाल्न आग्रह गरे ।

चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री यीले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्व विश्व शान्तिका लागि चिन्ताजनक भएको बताए । उनका अनुसार यस्तो युद्ध सुरु हुनु नै नपर्ने थियो । उनले बल प्रयोगलाई समस्याको समाधानका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

“सैन्य शक्तिले उचित कारण सिद्ध हुँदैन”, उनले भने, “संसार फेरि जङ्गलको नियममा फर्किन सक्दैन ।”
चीनको वार्षिक राजनीतिक कार्यक्रम ‘दुई सत्र’ का अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । चीनको संसद् र राजनीतिक परामर्शदात्री निकायका समानान्तर बैठकहरू यसै साता सुरु भएका छन् । यी बैठकहरूलाई बदलिँदो भू–राजनीतिक परिस्थितिमा चिनियाँ नेतृत्वका नीति र प्राथमिकताबारे सङ्केत दिने महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिन्छ ।

पत्रकार सम्मेलनमा यीले चीन–अमेरिका सम्बन्ध, व्यापारिक तनाव, दक्षिण चीन सागरमा देखिएको क्षेत्रीय विवाद, मध्यपूर्वको द्वन्द्व तथा युक्रेन युद्धलगायतका विषयमा विस्तृत रूपमा टिप्पणी गरेका थिए ।
उनका अनुसार सन् २०२६ चीन र अमेरिकाबीचको सम्बन्धका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण वर्ष बनेको छ । दुई शक्तिबीच प्रतिस्पर्धा बढ्दै गए पनि सम्बन्ध व्यवस्थापन गर्नु दुवै पक्षका लागि आवश्यक रहेको उनले उल्लेख गरे ।

गत वर्ष डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति बनेपछि वासिङ्टन र बेइजिङबीचको सम्बन्ध अझ तनावपूर्ण बनेको छ । त्यसपछि दुवै देशले एकअर्काका उत्पादनमा प्रतिशोधात्मक शुल्क लगाउँदै व्यापार युद्धलाई तीव्र बनाएका छन् ।

“हामीले केही देशहरूले कर अवरोधहरू खडा गरेको र आर्थिक निर्भरता घटाउने तथा आपूर्ति शृङ्खलामा अवरोध सिर्जना गर्ने प्रयास गरिरहेको देखेका छौँ”, उनले भने । उनले त्यस्ता कदमलाई समस्या समाधानभन्दा झन् जटिल बनाउने नीति भएको टिप्पणी गरे ।

“यस्ता कार्यहरू आगो निभाउन इन्धन प्रयोग गर्नुजस्तै हुन्”, उनले भने,“अन्ततः यसले उल्टै प्रहार गर्छ र आफूलाई नै क्षति पुर्याउँछ ।”

उनका अनुसार चीन र संयुक्त राज्य अमेरिका एकअर्कालाई परिवर्तन गराउन सक्ने अवस्थामा छैनन्, तर आपसी सम्बन्ध सञ्चालन गर्ने तरिका भने सुधार गर्न सकिन्छ । त्यसैले दुवै पक्षले संवादको वातावरण सिर्जना गर्न, विद्यमान मतभेदलाई व्यवस्थापन गर्न र अनावश्यक हस्तक्षेप हटाउन प्रयास गर्नुपर्ने उनले बताए ।