खाडी मुलुकका अमेरिकी सैन्य अखडामा इरानी आक्रमण


बीबीसी । इरानमा आक्रमण सुरु भएपछि कतारका विभिन्न सहरहरुमा इरानले आक्रमण गरेको छ । कतारको रक्षा मन्त्रालयले ‘देशको भूभाग लक्षित कैयन् हमलाको सफलतापूर्वक प्रतिरोध गरिएको’ जनाएको छ ।

एकजना कतारी अधिकारीले एएफपी समाचार संस्थासँग बोल्दै अमेरिकी प्याट्रिअट क्षेप्यास्त्रले एक इरानी क्षेप्यास्त्र खसाएको बताए । कतारमा उक्त क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदैद हवाई अखडा रहेको छ । संयुक्त अरब इमिरेट्स (युएई), बाहराइन र कुवेतमा पनि विस्फोटनहरू सुनिएको छ ।

युएईको सरकारी सञ्चार माध्यमका अनुसार इरानी क्षेप्यास्त्रहरू प्रतिरोध गरिएपछि खसेका टुक्राटाक्री लागेर एकजनाको ज्यान गएको छ। त्यहाँको रक्षा मन्त्रालयले ती व्यक्ति एसियाली मूलको भएको भनेको छ ।

बहराइनमा पनि अमेरिकी नौसैनिक अखडामा क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ। त्यहाँ यूएस फिफ्थ फ्लीटको मुख्यालय छ । आफूमाथि आक्रमण भए सो क्षेत्रमा रहेका अमेरिकी अखडाहरूमा प्रहार गरिने इरानले चेतावनी दिँदै आएको थियो ।

इरानको विदेश मन्त्रालयले अमेरिका र इजरायलको हमला गर्ने ’नियत’ रहेको बारे आफूहरू जानकार हुँदा हुँदै पनि वार्तामा बसेको बताएको छ । ‘इरान र अमेरिकासँग कूटनीतिक प्रक्रियामा रहेकै बेला’ आक्रमण भएको उसले भनेको छ । इरान र अमेरिकाबीचको तेस्रो चरणको अप्रत्यक्ष वार्ता जेनेभामा फेब्रुअरी २६ मा सम्पन्न भएको थियो ।

गतवर्षको मे महिनामा पनि ती दुई देशले पाँच चरणमा वार्ता गरेका थिए। छैटौँ चरणको वार्ता चाहिँ जुनमा इजरेलले इरानमा आक्रमण गरेपछि रद्द भएको थियो। त्यसपछि १२ दिन सम्म चलेको युद्धका बेला अमेरिकाले इरानका तीनवटा महत्त्वपूर्ण परमाणु केन्द्रहरूमा बमबारी गरेको थियो ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले अमेरिका र इजरायलको संयुक्त हवाई हमलापश्चात् ’कडा प्रतिक्रिया’ जनाइने वाचा गरेको छ ।

परिषदले इरानको फौजले बदलाको कारबाही थालिसकेको बताएको छ । तेहरान तथा अन्य सहरहरूमा अमेरिकी तथा इजरायलको हमला जारी रहन सक्ने भन्दै उसले नागरिकहरूलाई ‘शान्त रहन’ र सम्भव भएसम्म सुरक्षित ठाउँमा जान भनेको छ ।

समाजलाई आवश्यक पर्ने सामग्रीको जोहो सरकारले गरिसकेको उसले बताएको छ । त्यहाँ स्कूल तथा विश्वविद्यालयहरू अर्को सूचना नआएसम्म बन्द गरिने भएको छ। बैंकको सेवा जारी रहने तथा सरकारी कार्यालय आधा क्षमतामा चल्ने बताइएको छ ।