बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टनले कंग्रेसको निगरानी समितिसमक्ष दिएको बयानमा दिवंगत यौन अपराधी जेफ्री एपस्टेनका अपराधबारे आफू अनभिज्ञ रहेको बताएका छन् ।
बन्द कोठाभित्र दिनभर चलेको सोधपुछका क्रममा क्लिन्टनसँग हालै सार्वजनिक गरिएका फाइलहरूमा उनको नाम समावेश हुनुका साथै हट टबमा अज्ञात महिलासँग देखिएको तस्बिरबारे प्रश्न गरिएको थियो। ती महिलाको पहिचान सुरक्षित राख्न अनुहार ढाकिएको छ । क्लिन्टनले उक्त महिलालाई नचिनेको र कुनै यौन सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
उनको बयान एक दिनअघि उनकी पत्नी तथा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि एपस्टिनका अपराधबारे ‘कुनै जानकारी नभएको’ बताएको पृष्ठभूमिमा आएको हो। हालसम्म सार्वजनिक रूपमा अगाडि आएका एपस्टिनका पीडितहरूले क्लिन्टन दम्पतीमाथि कुनै दुव्र्यवहारको आरोप लगाएका छैनन्।
क्लिन्टनले एपस्टिनका गतिविधिबारे ‘अलिकति संकेत’ भए पनि आफूले तत्काल सम्बन्ध विच्छेद गर्ने र उनको निजी विमान प्रयोग नगर्ने बताएका छन्। ‘म आफैंले उनलाई उजुरी गर्थें,’ उनले प्रारम्भिक लिखित वक्तव्यमा उल्लेख गरेका छन्।
संसदको निगरानी समितिका रिपब्लिकन अध्यक्ष जेम्स कोमरले बयानलाई ‘उत्पादक’ भन्दै छिट्टै भिडियो र पूर्ण प्रतिलिपि सार्वजनिक गरिने जानकारी दिएका छन्। उनले क्लिन्टन दम्पतीको बयानलाई ‘ऐतिहासिक’ भन्दै कंग्रेससमक्ष बयान दिने उच्च पदस्थमध्येका अधिकारी भएको दाबी गरेका छन्।

प्रतिक्रिया