बेइजिङ । चीनले शुक्रबार आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो छिट्टै’ इरानबाट बाहिर निस्कन आग्रह गरेको छ।
चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले इरानमा रहेका चिनियाँ नागरिकलाई सुरक्षा सावधानी अपनाउन र जतिसक्दो चाँडो सुरक्षित स्थानमा जान सल्लाह दिइन्छ।’
अमेरिकाले मध्यपूर्वमा दशकौँको सबैभन्दा शक्तिशाली सैन्य निर्माणलाई रोक्न दबाब दिँदै अन्यथा इरानमा आक्रमण गर्ने चेतावनी दिएको छ।
इरान र अमेरिकाबिच ओमानको मध्यस्थतामा भएको वार्ताको एक दिनपछि अमेरिका र चीनले आफ्ना मुलुकका नागरिकलाई अति आवश्यक बाहेक त्यहाँ नबस्न अनुरोध गरेका छन्। वार्ता युद्ध रोक्नको लागि अन्तिम प्रयासको रूपमा हेरिएको छ।
वार्तामा तेहरानले वासिङ्टनलाई सम्झौतामा पुग्न ‘अत्यधिक कडा माग’ छाड्नुपर्ने चेतावनी दिएको थियो।
बेइजिङको विदेश मन्त्रालयले शुक्रबार आफ्ना नागरिकलाई ‘हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि इरानको यात्रा नगर्न’ भनेको हो । इरान र छिमेकी मुलुकहरूमा रहेका चिनियाँ दूतावास र वाणिज्य दूतावासले व्यावसायिक उडान वा स्थलमार्गबाट स्थानान्तरण गर्न चाहने चिनियाँ नागरिकहरूलाई ‘आवश्यक सहयोग’ प्रदान गर्ने विदेश मन्त्रालयले बताएको छ।

प्रतिक्रिया