जेनेभा । नयाँ द्वन्द्व टार्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा अप्रत्यक्ष वार्ताको नयाँ चरण सुरु हुन लाग्दा वासिङ्टनले सार्वजनिक रूपमा उठाउँदै आएको क्षेप्यास्त्र मुद्दालाई केही हदसम्म पन्छाएको सङ्केत देखिएको छ । क्षेत्रीय तनाव उच्च विन्दुमा पुगेका बेला दुवै पक्षले कूटनीतिक बाटो रोज्न खोजेका हुन् ।
अमेरिकाले यस क्षेत्रमा उल्लेख्य सैन्य जमघट गरेपछि र राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए आक्रमण गर्न सकिने चेतावनी दोहोर्याएपछि वार्ता सुरु हुन लागेको हो । मङ्गलबारको स्टेट अफ द युनियन सम्बोधनमा ट्रम्पले इरानले ‘भयावह आणविक महत्त्वाकांक्षा’ पछ्याइरहेको आरोप लगाउँदै तेहरानले युरोप तथा विदेशस्थित अमेरिकी आधारसम्म पुग्न सक्ने मिसाइल विकास गरिसकेको दाबी गरे । उनले चाँडै संयुक्त राज्य अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र निर्माणको प्रयास भइरहेको समेत उल्लेख गरे ।
इरानी विदेश मन्त्रालयले ती आरोपलाई ‘ठूलो झुट’ भन्दै अस्वीकार गरेको छ । तेहरानले सार्वजनिक रूपमा आफ्नो मिसाइलको अधिकतम दूरी दुई हजार किलोमिटर रहेको बताउँदै आएको छ भने अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसले यसको क्षमता करिब तीन हजार किलोमिटरसम्म हुन सक्ने अनुमान गरेको छ, जुन महाद्वीपीय अमेरिकासम्म पुग्न पर्याप्त नभएको विश्लेषण गरिएको छ ।
यद्यपि दुवै देशबीचको मूल विवाद इरानको आणविक कार्यक्रममै केन्द्रित छ । पश्चिमी राष्ट्रहरूले तेहरानले आणविक बम विकास गर्ने लक्ष्य राखेको आशङ्का व्यक्त गर्दै आएका छन् भने इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको अडान दोहोर्याउँदै आएको छ । अमेरिकाले भने वार्तामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र इजरायलविरुद्ध सक्रिय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थनबारे पनि छलफल गर्नुपर्ने दबाब दिइरहेको छ ।
विदेशमन्त्री मार्को रुबियोले तेहरानले क्षेप्यास्त्र विषयमा छलफल अस्वीकार गर्नु ‘ठूलो समस्या’ भएको बताउँदै इरानले यस कार्यक्रमबारे पनि वार्ता गर्नुपर्ने चेतावनी दिए । साथै उनले राष्ट्रपति ट्रम्प कूटनीतिक समाधानकै पक्षमा रहेको स्पष्ट गरे । इरानले भने आणविक मुद्दाबाहेक अन्य विषय वार्ताको दायरामा नरहने र आफ्नो अर्थतन्त्रलाई कमजोर बनाएका अमेरिकी प्रतिबन्ध हटाइनुपर्ने माग अघि सारेको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफू ‘वार्ताका लागि अनुकूल दृष्टिकोण’ लिएर अघि बढिरहेको बताउँदै वर्तमान ‘न युद्ध, न शान्ति’ अवस्थाबाट बाहिरिन सकिने आशा व्यक्त गरेका छन् । वार्तामा इरानी टोलीको नेतृत्व गरिरहेका विदेशमन्त्री अब्बास अराघचीले यसलाई ‘ऐतिहासिक अवसर’ भन्दै सम्झौता ‘पहुँचभित्र’ रहेको दाबी गरेका छन् । उनले अमेरिकी पक्षको गम्भीरता र विरोधाभासी व्यवहारबाट जोगिने क्षमतामा वार्ताको सफलता निर्भर रहने उल्लेख गरे ।
अमेरिकी टोलीको नेतृत्व राजदूत स्टिभ विटकफ र जारेड कुसनरले गर्नुहुनेछ । यसअघि ओमानको मध्यस्थतामा वार्ताका प्रारम्भिक चरण सम्पन्न भएका थिए । अघिल्लो प्रयास गत जुनमा इजरायलले गरेको आकस्मिक आक्रमणपछि असफल भएको थियो । इजरायलको आकस्मिक आक्रमणले १२ दिनको युद्ध निम्त्याएको र अमेरिकी बमबारीसमेत भएको थियो ।
जनवरीमा तेहरानमा भएको व्यापक विरोध प्रदर्शन र त्यसको दमनपछि पनि दुवै देशबीच तनाव बढेको थियो । ट्रम्पले इरानी जनतालाई ‘मद्दत’ गर्न हस्तक्षेप गर्न सकिने चेतावनी दिँदै आएका छन् । इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिजका एमिल होकाइमका अनुसार यस क्षेत्रले युद्धको सम्भावना वास्तविक रूपमा महसुस गरिरहेको छ, यद्यपि धेरै मध्यपूर्वी राष्ट्रहरूले अमेरिकाले इरानमाथि आक्रमण नगरोस् भनेर दबाब दिइरहेका छन् ।

प्रतिक्रिया