उत्तर कोरियामा किम यो जोङको पदोन्नति


सियोल । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले नेता किम जोङ उनका सबैभन्दा विश्वासपात्र मानिने बहिनी किम यो जोङलाई शीर्ष केन्द्रीय समितिभित्र विभाग निर्देशकको जिम्मेवारीमा पदोन्नति गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यो निर्णयलाई सत्ता संरचनाभित्र उनको प्रभाव औपचारिक रूपमा अझ बलियो बनाइएको सङ्केतका रूपमा हेरिएको छ ।

पाँच वर्षमा एकपटक आयोजना हुने पार्टीको शिखर सम्मेलनका लागि हजारौँ प्रतिनिधि प्योङयाङमा भेला भइरहेका बेला गरिएको यो पदोन्नतिले कूटनीति, सुरक्षा र रणनीतिक विषयमा किम परिवारको पकड झन् सुदृढ भएको देखाएको छ । किम यो जोङले यसअघि प्रचार संयन्त्रमा वरिष्ठ भूमिका निर्वाह गरेकी थिइन्, तर अहिले कुन विभागको नेतृत्व गरेकी हुन् भन्ने खुलाइएको छैन ।

लामो समयदेखि आफ्ना दाजुका सबैभन्दा नजिकका सहकर्मीका रूपमा चिनिएकी उनले आणविक वार्ता र अन्तर्राष्ट्रिय कूटनीतिमा स्पष्ट र कडा अभिव्यक्ति दिँदै आएकी छन् । अनुसन्धानकर्ता अहन चान–इलका अनुसार किम जोङले पूर्ण भरोसा गर्न सक्ने सीमित व्यक्तिमध्ये उनी एक हुन् । सिङ्गापुर र हनोईमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएका शिखर भेटवार्तामा उनी कार्यस्तर अधिकारीका रूपमा सक्रिय थिइन् ।

सन् २०१८ मा प्योङचाङ शीतकालीन ओलम्पिकका अवसरमा विशेष दूतका रूपमा सियोल पुगेपछि उनी अन्तर्राष्ट्रिय रूपमा चिनिन थालेकी हुन् । कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम वंशको पहिलो सदस्य बनेको उनले त्यसयता वासिङ्टन र सियोलप्रति कडा टिप्पणी गर्दै आएका छन् ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलको सरकारलाई ‘संयुक्त राज्य अमेरिकाको वफादार कुकुर’ भनी टिप्पणी गरेको प्रसङ्ग चर्चित बनेको थियो । यद्यपि, दक्षिण कोरियाका वर्तमान नेता ली जे म्युङ सत्तामा आएपछि उनको सार्वजनिक भाषा केही नरम देखिएको विश्लेषकहरू बताउँछन् ।

सन् १९८८ मा जन्मिएकी किम यो जोङ पूर्व नेता किम जोङ इल र को योङ हुईका सन्तानमध्ये एक हुन् । स्विट्जरल्यान्डमा शिक्षा हासिल गरेकी उनी सन् २०११ मा आफ्ना पिताको निधनपछि सत्ता संरचनामा द्रुत रूपमा उक्लिएका थिए । उनको पारिवारिक जीवनबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन, तर गत वर्ष सार्वजनिक गरिएको दुर्लभ भिडियोमा दुई साना बालबालिकासँग देखिएएका थिए।

पार्टी सम्मेलनलाई किम जोङले आफ्नो नेतृत्व सुदृढ पार्ने अवसरका रूपमा लिइँदै आएको छ । किम वंशअन्तर्गत नवौँ पटक आयोजना गरिएको यस भेलाले भविष्यको उत्तराधिकारबारे पनि चासो बढाएको छ । विशेषगरी किम जोङकी छोरी किम जु एलाई अघि सारिने सम्भावनाबारे चर्चा भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको जनाएको छ ।

यता, डोनाल्ड ट्रम्पले पुनः भेटका लागि आफू ‘शतप्रतिशत’ तयार रहेको बताएको भए पनि किम जोङले हालसम्म उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने सङ्केत दिएको छैन । पछिल्लो पदोन्नतिसँगै किम यो जोङको भूमिका आन्तरिक शक्ति सन्तुलन र बाह्य कूटनीतिमा झन् निर्णायक बन्ने अनुमान गरिएको छ ।