भारतमा एयर एम्बुलेन्स दुर्घटना, सात जनाको मृत्यु


नयाँदिल्ली । भारतको झारखण्डबाट दिल्लीका लागि उडेको भरेको एयरएम्बुलेन्स सोमबार साँझ दुर्घटना भएको छ ।

चतरा जिल्लामा भएको दुर्घटनामा विमानमा सवार सबै सात जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ । सोमबार साँझ राँचीबाट उडान भरेको एयर एम्बुलेन्स झारखण्डको चतरा जिल्लाको समरियाको जंगलमा दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ ।

विमान साँझ ७ः११ बजे राँची विमानस्थलबाट उडेको थियो । करिब ७ः३० बजे विमान सम्पर्कविहीन भएको र पछि घना वन क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाइएको छ र राँचीस्थित देवकमल अस्पतालका सीईओ अनन्त सिन्हाका अनुसार एयर एम्बुलेन्स ४१ वर्षीय सञ्जय कुमारलाई दिल्ली लैजानका लागि व्यवस्था गरिएको थियो।

लातेहार जिल्लाका उनी ६५ प्रतिशत शरीर जलेको अवस्थामा फेब्रुअरी १६ देखि अस्पतालमा उपचाररत थिए । बिरामीका आफन्त विजय कुमारका अनुसार चिकित्सकले सडकमार्गबाट लैजान जोखिमपूर्ण हुने बताएपछि एयर एम्बुलेन्सको विकल्प रोजिएको थियो ।