ढाका । बङ्गलादेशले भारतमा रहेका आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा सोमबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बङ्गलादेशको विदेश मन्त्रालयका एक अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् । यसअघि सुरक्षा कारण देखाउँदै बङ्गलादेश सरकारले भारतस्थित आफ्ना कूटनीतिक मिसनहरूबाट पर्यटक भिसा सेवा अस्थायी रूपमा निलम्बन गरेको थियो ।
तर फेब्रुअरी १२ मा सम्पन्न राष्ट्रिय निर्वाचनपछि समग्र अवस्थामा सुधार आएको निष्कर्षसहित अब सेवा नियमित रूपमा विस्तार गरिने अधिकारीले बताए ।
उनका अनुसार नयाँदिल्लीस्थित बङ्गलादेश उच्च आयोग तथा गुवाहाटी, अगरतला, मुम्बई र कोलकाताजस्ता सहरहरूमा रहेका बङ्गलादेशी नियोगहरूले पर्यटक भिसाबाहेक अन्य अधिकांश भिसा सेवा जारी राखेका थिए । “पर्यटक भिसा सामान्यतया रोकिएको थियो, यद्यपि अत्यावश्यक अवस्थामा जारी गरिएको थियो”, उनले भने ।
औपचारिक रूपमा निलम्बन घोषणा नगरिए पनि सेवा सीमित गरिएको र अब सोमबारदेखि व्यापक रूपमा पुनः सुरु गरिने उनले स्पष्ट पारे । निर्वाचनको पूर्वसन्ध्यामा, जनवरी १५ देखि फेब्रुअरी १५ सम्म भारतस्थित सबै बङ्गलादेशी नियोगलाई पर्यटक भिसा सेवा निलम्बन गर्न निर्देशन दिइएको थियो ।
सो अवधिमा अत्यावश्यक श्रेणीका भिसा मात्र जारी गरिएका थिए । भारतबाहेक सुरक्षा कारण देखाउँदै नेपाल र भुटानजस्ता देशहरूका लागि पनि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो । समीक्षा पश्चात् अब सबै प्रकारका भिसा सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया