अस्ट्रियामा हिमआँधीका कारण यातायात र विद्युत अवरूद्ध


भियना । अस्ट्रियामा आएको ठूलो हिमआँधीका कारण व्यापक क्षेत्रमा विद्युत सेवामा अवरोध आएको छ।
आँधीका कारण सडकहरूमा रूख ढल्ने र सडक भत्किने समस्याले यातायात सेवामासमेत अवरोध देखिएको छ । हिउँको पुरिएका एक व्यक्तिसहित दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उत्तरी शहर लिन्जको आवासीय परिसरमा छानाबाट हिउँको लप्का खस्दा ५३ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमी टायरोल क्षेत्रमा हिमपहिरोमा परी जर्मनीका एक ‘स्की’ खेलाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अल्पाइन राष्ट्र अष्ट्रियामा बिहीबारदेखि परेको हिउँ जमिनमा ४० सेन्टिमिटर (१६ इन्च) सम्म जमेको छ । जसले दक्षिणपूर्वी अस्ट्रियाको ग्राज शहर वरपरको क्षेत्रमा हिमपहिरोको जोखिम बढेको छ ।

भियना विमानस्थलले बिहान सबै उडानहरू अस्थायी रूपमा रोक्न बाध्य भएको र दिउँसोको उडानहरू केही समयका लागि ‘अवरोध’ भएको बताएको छ।

“भियना वरपरको मुख्य राजमार्गहरूमध्ये एउटा राजमार्ग अनिश्चित (केही घण्टा) समयसम्म बन्द गरिएको थियो, र राजमार्गका अन्य भागहरू हिउँको बहाव, अलपत्र सवारी साधन वा खराब दृश्यका कारण अवरुद्ध भएका थिए,” राष्ट्रिय अटोमोबाइल एसोसिएसन (ओएएमटिसी) ले जनाएको छ।

इलेक्ट्रिक कम्पनीहरूले स्टायरियासहित दक्षिण र पूर्वका धेरै क्षेत्रहरूमा बिजुली कटौती भएको रिपोर्ट गरेको छ, जहाँ ३० हजार परिवारमा विद्युत् सेवा काटिएको छ।

स्लोभेनियामा पनि ४० हजार घरपरिवार प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।