बीबीसी । बेलायतका राजा चाल्र्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जर पक्राउ परेका छन् । सार्वजनिक पदमा रहँदा ‘अनुचित व्यवहार’ गरेको आशङ्कामा उनी पक्राउ परेका हुन् ।
राजा चाल्र्सले राजपरिवारले सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । राजाले भनेका छन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि कानुनले आफ्नो बाटो लिनुपर्छ।’
केही दिनअघि टेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रूले यौनअपराधी जेफ्री एप्स्टीनसँग केही गोप्य कागजातहरू ’शेयर’ गरेको उजुरीबारे अनुसन्धान सुरु गरेको बताएको थियो । एन्ड्रूले भने बारम्बार त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन् ।
उनी अहिले प्रहरी हिरासतमा छन् । राष्ट्रिय निर्देशिकाबमोजिम पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगर्ने भन्दै प्रहरीले अदालतको अवहेलना हुने गरी कुनै सामग्री प्रकाशन नगर्न समेत सचेत गराएको छ ।
उपयुक्त समयमा आफूले यस विषयमा थप विवरण उपलब्ध गराउने प्रहरीको भनाइ छ । राजाले अनुसन्धान प्रक्रिया जारी रहेका बेला आफूले धेरै टिप्पणी गर्नु अनुचित हुने बताएका छन् ।
उनले आफू र आफ्नो परिवार देश र जनताको सेवामा निरन्तर रहने पनि जनाएका छन् । राजकुमारको उपाधि खोसिनुअघि ड्यूक अफ योर्क रहेका एन्ड्रू बेलायती महारानी एलिजाबेथ द्वितीयका तेस्रो सन्तान हुन् । उनी सिंहासनको उत्तराधिकारीको नवौँ वरीयतामा थिए ।
राजा चाल्र्स उनका दाजु हुन् । उपाधि खोसिनुअघि नै उनले डचेज अफ योर्क सारासँग सम्बन्धविच्छेद गरिसकेका थिए । एन्ड्रूका दुई छोरीहरू राजकुमारी बिएट्रेस र युजेनी छन् ।

प्रतिक्रिया