क्यालिफोर्नियामा हिमपहिरो, आठ स्की खेलाडीको मृत्यु


लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका नौ स्की खेलाडीमध्ये आठ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ ।

मंगलबार बिहान क्यासल पिक क्षेत्रमा हिमपहिरो गएको थियो । प्रारम्भिक चरणमा छ जना जीवित उद्धार गरिएका थिए । तीमध्ये दुई जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसपछि व्यापक खोजी अभियान चलाइए पनि आठ जनाको मृत्यु पुष्टि भएको हो ।

नेभाडा काउन्टीका शेरिफ सानान मुनले एक सदस्य अझै हराइरहेको र आँधी, तीव्र हावा तथा बाक्लो हिमपातले खोजी कार्य अवरुद्ध गरिरहेको बताए । ‘अत्यन्त खराब मौसमले काम गर्नै कठिन बनाएको छ’, उनले भने ।

स्थानीय सुगर बाउल एकेडेमीले केही पीडितहरू आफ्नो निजी स्की–केन्द्रित विद्यालयसँग सम्बन्धित रहेको जनाएको छ । विद्यालयका कार्यकारी निर्देशक स्टिफन म्याकमहोनले समुदाय गहिरो शोकमा रहेको उल्लेख गरे ।

घटनाका बेला ११ ग्राहक र चार मार्गनिर्देशकसहितको समूह ब्याककन्ट्री यात्राबाट आधार शिविरतर्फ फर्कँदै थियो । चालिसभन्दा बढी उद्धारकर्मीले खोजी सुरु गरेका थिए, तर मौसमका कारण प्रयास प्रभावित भयो ।