नाभाल्नीकी आमाद्वारा न्यायको माग


मस्को । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीकी आमाले छोराको विषाक्त पदार्थका कारण मृत्यु भएको युरोपेली मूल्याङ्कनले पुष्टि गरेको महसुस गरेपछि न्यायको माग गरेकी छन् । नाभाल्नीका समर्थकहरूले जेलमा उहाँको मृत्यु भएको दुई वर्ष पूरा गरेको दिनको अवसरमा आमा ल्युडमिला नाभाल्नायाले यस्तो आह्वान गरेकी हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा प्रतिद्वन्द्वी नाभाल्नीको फेब्रुअरी २०२४ मा आर्कटिक जेल कलोनीमा १९ वर्षको कारावास भोग्दा निधन भएको थियो । बेलायत, स्विडेन, फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनको शरीरबाट लिइएका नमूनाको आधारमा विष एपिबाटिडिन (डार्टमा प्रयोग हुने विष) ले उनको मृत्यु भएको विश्वास व्यक्त गरेका छन् ।

ल्युडमिला नाभाल्नायाले मस्कोमा चिहान बाहिर पत्रकारहरूलाई भनिन्, ‘हामीलाई सुरुदेखि नै थाहा थियो कि हाम्रो छोराको केवल जेलमा मृत्यु भएको थिएन, उसको हत्या भएको थियो । हामी पत्ता लगाउनेछौं कि कसले गर्यो । निस्सन्देह, हामी न्याय चाहन्छौँ ।’

क्रेमलिनले अहिलेसम्म युरोपेली मूल्याङ्कनमा कुनै टिप्पणी गरेको छैन र लगातार नाभाल्नीको मृत्युसँग संलग्नता अस्वीकार गर्दै आएको छ । घटनास्थलमा उपस्थित एएफपीका रिपोर्टरका अनुसार विदेशी कूटनीतिज्ञहरू सहित दर्जनौँ मानिसले सोमबार बिहान चिहान भ्रमण गरेका थिए । केहीले अनुहारमा मास्क वा स्कार्फ लगाएका थिए ।

रूसी अधिकारीहरूले नाभाल्नी र उनको सङ्गठनलाई मृत्युअघि ‘चरमपन्थी’ घोषित गरेको थियो । उनका निर्वासित भ्रष्टाचार विरोधी फाउन्डेसनसँग सम्बन्धित जो कोहीलाई पनि रूसी कानूनअन्तर्गत अभियोजनको दायरामा राखिएको छ ।