बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा


ढाका । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले भने, ‘आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । अव आउने निर्वाचित सरकारले लोकतन्त्रको अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सुरु भएको मौलिक अधिकारलाई रोक्ने छैन।’

विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेको र उहाँ हेलिकोप्टरबाट भागेको केही दिनपछि युनुस सन् २०२४ अगस्टमा स्वघोषित निर्वासनबाट फर्किएका थिए ।

उनले पूर्व प्रधानमन्त्री हसिना अपदस्थ भएको दिनको स्मरण गर्दै भने, ‘त्यो ठूलो मुक्तिको दिन थियो । त्यो कस्तो आनन्दको दिन थियो भने यसका कारण विश्वभरका बङ्गलादेशीहरुले खुसी बनेका छन् । हाम्रो देशका युवाहरूले देशलार्ई दुष्ट शासकको पकडबाट मुक्त गरे।’

त्यसयता बङ्गलादेशको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्दै आएका उनले गत साता भएको निर्वाचनमा ‘ठूलो विजय’ हासिल गरेकामा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र उसका नेता तारिक रहमानलाई बधाई दिएका छन् । रहमानले अबको सरकारको नेतृत्व गर्नेछन् ।

‘निर्वाचनसँग जोडिएका जनता, मतदाता, राजनीतिक दल र सरोकारवाला संस्थाले प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्,’ युनुसले राष्ट्रबासीका नाममा गरेको सम्बोधनमा भने ।

उनले भने, ‘यो निर्वाचनले भविष्यको चुनावका लागि मार्ग तय गरेको छ । बिएनपीका प्रमुख तथा देशको सबैभन्दा शक्तिशाली राजनीतिक वंशका वंशज रहेका ६० वर्षीय रहमानले १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली देश बङ्गलादेशको नेतृत्व गर्नुहुनेछ ।’