सिड्नी । अस्ट्रेलियाको बोन्डी बिचमा भएको सामूहिक गोली काण्डका आरोपी नवीद अक्रम अदालतमा उपस्थित भएका छन् । अक्रम सोमबार पहिलो पटक अदालतमा उपस्थित भएका हुन् ।
अक्रम र उनका बुबाले मिलेर अस्ट्रेलियामा पछिल्ला करिब ३० वर्षकै सबैभन्दा घातक गोली काण्ड गरेको आरोप लागेको करिब दुई महिनापछि उनी अदालतमा उपस्थित भएका हुन् । २४ वर्षीय अक्रम सिड्नी अदालतमा जेलबाट भिडियो लिङ्कमार्फत झन्डै पाँच मिनेट उपस्थित भएका थिए ।
उनी विरुद्ध १५ वटा हत्या, आतङ्कवादी हमला तथा अन्यसमेत गरी ५९ वटा आरोप दर्ता भएको छ । प्रहरीका अनुसार डिसेम्बर १४ मा बोन्डी बिचमा आयोजना गरिएको यहुदी पर्व हनुक्का कार्यक्रममा आक्रमण हुँदा १५ जनाको ज्यान गएको थियो भने ४० भन्दा बढी घाइते भएका थिए ।
घटनास्थलमै नवीदका ५० वर्षीय बुबा साजिद अक्रम प्रहरीको गोलीबाट मारिएका थिए । नवीद गम्भीर घाइते अवस्थामा पक्राउ परेका थिए । अदालतमा उपस्थित भएका अक्रमले धेरै बोलेनन् । न्यायाधीशले अदालतको आदेश सम्बन्धी छलफल बुझेको छ कि छैन भनेर सोधेका थिए । उनले ‘छ’ मात्रै भनेका थिए ।
अदालतले गोली काण्डबाट बाँचेकाहरूको पहिचान गोप्य राख्ने आदेश दिएको छ । तर उनीहरूले चाहेको खण्डमा आफैँ सार्वजनिक गर्न सक्ने व्यवस्था छ ।
अक्रमका वकिल बेन आर्चबोल्डले उक्त मुद्दाबारे टिप्पणी गर्न हतार हुने बताएका छन् । अक्रमलाई अहिले गौल्बर्न सुपर म्याक्स जेलमा कडा सुरक्षा व्यवस्थाबिच राखिएको छ ।
प्रहरीसँगको बयान प्रक्रियासमेत प्रारम्भिक चरणमै रहेको भन्दै थप विवरण दिन उनले अस्वीकार गरेका थिए । यो मुद्दाले अस्ट्रेलियामा सुरक्षा र आतङ्कवाद नियन्त्रणबारे पुनः बहस सुरु गराएको छ ।

प्रतिक्रिया