ब्रसेल्स । युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटलाई पहुँच दिन निर्देशन दिएको छ।
सङ्घको अनुसन्धानले अमेरिकी प्रविधि कम्पनी मेटाले प्रतिस्पर्धा नियम उल्लङ्घन गरेको पत्ता लगाएको थियो ।
युरोपेली आयोगका अनुसार, मेटाले जनवरीदेखि आफ्ना नियम परिवर्तन गरेपछि तेस्रो–पक्ष कृत्रिम बुद्धिमत्ता सहयोगीहरूलाई ‘व्हाट्सएप’ मार्फत ग्राहकहरूसँग जडान हुन रोक लगाइएको छ ।
प्रतिस्पर्धा प्रमुख तेरेसा रिबेराले भने,“सङ्घले अस्थायी उपायहरू अपनाउन सक्ने बारेमा विचार गर्दैछ ताकि मेटाको नयाँ नीति यूरोपमा प्रतिस्पर्धालाई दीर्घकालीन रूपमा हानि नपुर्याओस् । यदि अस्थायी उपायहरू लागू भए, मेटाले तेस्रो–पक्ष कृत्रिम बुद्धिमत्ता सहयोगीहरूको ‘व्हाट्सएप’ पहुँच पूर्व नीति अनुसार कायम अनुसन्धान सकिएसम्म राख्नुपर्नेछ ।’
आयोगले मेटालाई औपचारिक पत्र पठाएको छ, जसमा कम्पनीले जवाफ दिने र आफूलाई बचाउने अवसर पाउँछ ।
मेटाले प्रारम्भिक निष्कर्ष अस्वीकार गर्दै भन्यो, “सङ्घले हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन । मानिसहरूले एप, उपकरण, वेबसाइट अन्य धेरै विकल्पहरू प्रयोग गर्न सक्छन् । आयोगले व्हाट्सएप सेवा प्रमुख वितरण माध्यम भएको मान्नु गलत हो ।”
आयोगले मेटालाई ‘युरोपेली आर्थिक क्षेत्रमा प्रमुख सन्देश सेवा भएको नाजुक स्थिति दुरुपयोग गर्दै प्रतिस्पर्धीलाई पहुँच नदिएको’ आरोप लगाएको छ ।
तेरेसा रिबेराले भने, “हामी प्रमुख प्रविधि कम्पनीहरूले आफ्नो प्रभुत्व प्रयोग गरेर आफूलाई अन्यायपूर्ण लाभ लिन सक्ने अनुमति दिन सक्दैनौं ।”
मेटा अहिले सङ्घमा विभिन्न कानून अन्तर्गत अनुसन्धानमा रहेको छ । फेसबुक र इन्स्टाग्राममा बालबालिकामा सामाजिक सञ्जालको लत रोक्न पर्याप्त उपाय नगरेको विषयमा पनि अनुसन्धान जारी छ ।
गत वर्ष मेटामाथि डिजिटल बजार नियमअनुसार दुई करोड युरो जरिवाना लगाइएको थियो, जुन मेटाले चुनौती दिइरहेको छ ।

प्रतिक्रिया