दक्षिण सुडानमा सैन्य कारबाही रोक्न राष्ट्रसङ्घको आह्वान


जेनेभा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा गर्दै सबै पक्षलाई तत्काल सैन्य कारबाही रोकी वार्ताका माध्यमबाट तनाव कम गर्न आह्वान गरेका छन् ।

महासचिवका लागि उप प्रवक्ता फरहान हकले विज्ञप्ति मार्फत महासचिवले दक्षिण सुडानमा बढ्दो हिंसाले चरम सङ्कटका कारण दुई तिहाइ भन्दा बढी जनसंख्यालाई–जीवन बचाउने मानवीय सहायताको आवाश्यकता रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा निरन्तर आक्रमण, मानवीय र स्वास्थ्य सुविधाको अभाव लुटपाट–प्रमुख आपूर्ति मार्गहरूमा आवागमन प्रतिबन्ध र असुरक्षाको साथै –मानवीय सहयोग र आवश्यक सेवाहरू बन्द भएकाले नागरिकहरूलाई गम्भीर जोखिममा पारेको जनाइएको छ ।

विज्ञप्तिले डिसेम्बरको अन्त्य देखि जोङ्लेई राज्यमा कम्तीमा ११ वटा स्वास्थ्य सुविधाहरूमा आक्रमण भएको उल्लेख गर्दै जीवन बचाउने सेवाहरूमा बाधा पुगेको उल्लेख गरेको छ ।

यसले कसरी आक्रमणहरूमा एम्बुलेन्ससहित १२ वटा गाडीहरू जफत गरिएको पनि उल्लेख गरेको छ ।

गत हप्तामा मात्रै, देशभरि भएका घटनाहरूमा विश्व खाद्य कार्यक्रमको कार्यलयमा बारम्बार आक्रमण, मेडिसिन्स सान्स फ्रन्टियर्सद्वारा सञ्चालित अस्पतालमा हवाई आक्रमण, सेभ द चिल्ड्रेन फिल्ड अफिस जलाउनु र यसको स्वास्थ्य केन्द्रको विनाश भएको जनाइएको छ ।

विज्ञप्तिले चिकित्सा र मानवीयता विरोधि कार्यहरूको निन्दा गर्दै यस लाई छिटै रोक्नुपर्ने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखका अनुसार यस वर्ष मात्रै देश भर लडाइँका कारण तीन लाख ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

महासचिवले सैन्य अपरेसनहरू रोक्न, संवाद मार्फत तनाव कम गर्न, अन्तर्राष्ट्रिय कानूनलाई आत्मासाथ गरी नागरिकहरूको सुरक्षा र दिगो मानवीय पहुँच सुनिश्चित गर्न सहयोगी तथा राष्ट्रसङ्घका शान्तिरक्षकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन् ।