निर्वाचनमा जापानी प्रधानमन्त्री ताकाइचीलाई ऐतिहासिक जित


टोकियो । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आइतबार सम्पन्न तल्लो सदनको निर्वाचनमा दुई–तिहाइभन्दा बढी बहुमत हासिल गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । यस जितले प्रधानमन्त्री सानाए ताकाइचीलाई आफ्नो रूढीवादी नीति एजेन्डा अघि बढाउन ठूलो राजनीतिक बल प्रदान गरेको छ।

निर्वाचनअघि १९८ सिटमा सीमित एलडीपीले सिट संख्या बढाएर ३१५ पुर्याएको छ । प्रधानमन्त्री ताकाइचीको व्यक्तिगत लोकप्रियताले पार्टीको सिट संख्यामा उल्लेखनीय वृद्धि गराएको विश्लेषण गरिएको छ। एलडीपी र यसको गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (जेआईपी) ले संयुक्त रूपमा तल्लो सदनमा ३५१ सिट हासिल गरेका छन् ।

निर्वाचनले नयाँ गठन भएको प्रमुख विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ लाई ठूलो धक्का दिएको छ। निर्वाचनअघि १६७ सिट रहेको उक्त गठबन्धन ४९ सिटमा झरेपछि नेताहरू योशिहिको नोदा र तेत्सुओ साइटोले राजीनामाको संकेत दिएका छन्।

४६५ सदस्यीय तल्लो सदनमा ३१० सिटको दुई–तिहाइ सीमा पार गर्नुले एलडीपीलाई युद्धपछिको जापानमा पहिलोपटक यस्तो उपलब्धि हासिल गर्ने दल बनाएको छ। यसले माथिल्लो सदनले अस्वीकार गरेका विधेयक पारित गर्न र संविधान संशोधनतर्फ अघि बढ्न बाटो खोलिदिएको छ।

मुद्रास्फीति र जटिल बन्दै गएको अन्तर्राष्ट्रिय परिस्थितिका बीच प्रधानमन्त्री ताकाइचीले ‘जिम्मेवार तर आक्रामक’ वित्तीय नीति अपनाउने र देशको रक्षा क्षमता सुदृढ गर्ने प्रतिबद्धता जनाएकी छन् । एलडीपीको जित सार्वजनिक भएपछि टेलिभिजन कार्यक्रममा बोल्दै उनले चुनावी वाचाहरू कार्यान्वयनमा केन्द्रित हुने बताइन् ।

प्रधानमन्त्री ताकाइचीले हालको मन्त्रिपरिषद् संरचनामा ठूला परिवर्तन नगर्ने संकेत पनि दिएकी छन्। यद्यपि, उनले गठबन्धन साझेदार जेआईपीले सरकारभित्रै साझा जिम्मेवारी वहन गर्ने अपेक्षा व्यक्त गरिन्।

जेआईपीले तल्लो सदनमा आफ्ना सिट ३४ बाट ३६ पुर्याए पनि, निर्वाचनमा एलडीपीसँग उम्मेदवार समन्वय गरेको थिएन। जेआईपी नेता हिरोफुमी योशिमुराले यस निर्वाचनमा एलडीपीको दबाब महसुस भएको प्रतिक्रिया दिएका छन्।

यस निर्वाचनमा ‘जापान फस्र्ट’ नारासहितको सान्सेइतो पार्टीले उल्लेखनीय प्रगति गर्दै १५ सिट जितेको छ। डिजिटल प्रविधिमार्फत राजनीतिक सहभागिता बढाउने एजेन्डा बोकेको ‘टिम मिराइ’ ले पहिलोपटक तल्लो सदनमा ११ सिट हात पारेको छ।

क्योदो न्युजको अनुमानअनुसार मतदान प्रतिशत ५६.२६ प्रतिशत पुगेको छ, जुन अघिल्लो निर्वाचनभन्दा करिब दुई प्रतिशत बिन्दुले बढी हो। ४६५ सिटका लागि करिब १,३०० उम्मेदवार प्रतिस्पर्धामा थिए।

निर्वाचनमा २ करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गरेका थिए, जुन सन् २०२४ को निर्वाचनको तुलनामा करिब ६० लाखले बढी हो।

प्रधानमन्त्री ताकाइचीले खाद्य सामग्रीमा लाग्ने ८ प्रतिशत उपभोग कर दुई वर्षका लागि निलम्बन गर्ने योजनामा छलफल तीव्र बनाइने बताएकी छन्।