लन्डन । बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले जेफ्री एपस्टिनका पीडितहरूसँग लर्ड म्यान्डेलसनका ‘झूट’ पत्याएको र उनलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गरेकोमा माफी मागेका छन् ।
प्रधानमन्त्री स्टार्मरले यस विषयमा आलोचना भएपछि म्यान्डेलसन र एपस्टिनबीचको सम्बन्धको “गहिराइ र अँध्यारोपन” आफूहरूलाई थाहा नभएको बताए।
तर, कन्जरभेटिभ नेतृ केमी बेडेनोचले प्रधानमन्त्रीको अवस्था ‘असह्य’ भएको टिप्पणी गरिन्। लिबरल डेमोक्रेट्सले लेबर सांसदहरूको समर्थन परीक्षण गर्न विश्वास मतको माग गरेका छन्।
प्रधानमन्त्रीमाथि आफ्नै दलका केही सांसदहरूले पद त्याग्न दबाब दिइरहेका छन्। सार्वजनिक रूपमा आलोचना गर्ने सांसद कम भए पनि धेरैले निजी रूपमा चिन्ता व्यक्त गरेको जनाइएको छ।
सर किअरका पूर्व राजनीतिक निर्देशक लुक सुलिभनले प्रधानमन्त्री “आफ्नो पद जोगाउन संघर्षरत” रहेको बताएका छन्। उनले बीबीसीलाई भने, “प्रधानमन्त्री परेको परिस्थितिको गम्भीरतालाई कम आँक्न मिल्दैन।”
यसअघि दिएको भाषणमा स्टार्मरले म्यान्डेलसनलाई नियुक्त गरेकोमा पछुतो लागेको र अहिले थाहा भएको तथ्य त्यतिबेला थाहा भएको भए यस्तो निर्णय नगर्ने बताएका थिए।
एपस्टिनका पीडितलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरूमाथि भएको अन्यायका लागि म माफी चाहन्छु। शक्तिमा रहेका धेरै मानिसहरूले तपाईंलाई जोगाउन नसकेकोमा म क्षमाप्रार्थी छु।’
स्टार्मरको माफीप्रति प्रतिक्रिया दिँदै एपस्टिनकी पीडित मरिना लासेर्दाले राष्ट्रिय टेलिभिजनमार्फत माफी माग्नु ‘सकारात्मक र ठूलो कदम’ भएको बताइन्।

प्रतिक्रिया