शान्ति वार्ता ‘सजिलो छैन’: जेलेन्स्की


किएभ । मस्को र किएभले अबुधाबीमा भएको वार्ताका क्रममा यस खास समस्या मानिएको भौगोलिक समस्याका विषयमा तत्काल कुनै प्रगतिको सङ्केत नदेखिएको युक्रेनी अधिकारीले बताएका छन् ।

वार्ताका क्रममा दुबै पक्षले ३०० भन्दा बढी कैदीबन्दी आदानप्रदान गर्न सहमति जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको बारेमा किएभमा एक पत्रकार सम्मेलनमा भने, “हामी छिट्टै परिणाम चाहन्छौँ, यो पक्कै पनि सजिलो छैन, तर युक्रेन सकेसम्म रचनात्मक भएको छ र रहनेछ ।”

युद्ध समाप्त गर्न एक व्यापक सम्झौताको खोजीका लागि सफलताको आशा धमिलो पारेको ‘महत्वपूर्ण’ काम अझै बाँकी रहेको अमेरिकी मध्यस्थकर्ता स्टिभ विटकोफले बताए ।

हजारौँको ज्यान लिएको, लाखौँ मानिस विस्थापित भएको साथै र पूर्वी तथा दक्षिणी युक्रेनको अधिकांश भाग ध्वस्त भएको दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्धलाई रोक्ने कूटनीतिक प्रयासमा अबुधाबीे वार्ता समस्या समाधानका लागि भएको पछिल्लो प्रयास हो।

वार्ता चलिरहेको बेला पनि रूसले युक्रेनको उर्जा उत्पादन र आपूर्तिका लागि बनेका संरचनामा आक्रमण गर्दा युक्रेनको राजधानीको ठूलो भाग अझै पनि विद्यूतविहिन अवस्थामा रहेको छ । शून्यभन्दा कम तापक्रममा त्यहाँका नागरिक विद्युतविहिन अवस्थामा दिन रात विताउनुपरेको छ।

किएभका मेयर भिटाली क्लिट्स्कोले यस हप्ताको सुरुमा रुसी हमलामा एक महत्वपूर्ण पावर स्टेशन ध्वस्त भएपछि एक हजारभन्दा बढी अपार्टमेन्ट ब्लकहरूमा दुई महिनासम्म विद्युत् पु¥याउन कठिन हुनसक्ने चेतावनी दिएका छन् ।

वार्ताको मुख्य मुख्य बिन्दु पूर्वी युक्रेनको रूसले कब्जा गरेको जमिनको दीर्घकालीन भाग्यको बिषय हो।
मस्कोले कुनै पनि सम्झौता अघि किएभले डोनबासको ठूलो क्षेत्रबाट आफ्ना सेनाहरू फिर्ता लिन माग गरिरहेको छ, जसमा विशाल प्राकृतिक स्रोतहरूसहित भारी किल्ला भएका शहरहरू पनि समावेश छन्।

रूसले आक्रमणमा जफत गरिएको भूमि रूसको हुनेगरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनुपर्ने माग गर्दै आएको छ।

किएभले अहिलेको अग्रपङ्तीबाट नै द्वन्द्व रोक्नु पर्ने बताएको छ र सेनाको फिर्तीलाई अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा फर्केदेखि नै युद्ध अन्त्यका लागि वार्ता गर्न दुवै पक्षलाई दबाब दिइरहेका छन् ।

जेलेन्स्कीले पुटिन ट्रम्पसँग मात्र डराउने गरेको भन्दै रूसलाई दबाब दिनका लागि अमेरिकी राष्ट्रपतिको भूमिका महत्वपूर्ण रहेको बताए ।

युद्धको मैदानमा भएको क्षतिको दुर्लभ आधिकारिक स्वीकारोक्तिमा, जेलेन्स्कीले भने, “सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण गरेदेखि उहाँको देशका कम्तिमा ५५ हजारसैनिकहरू मारिएका छन्।” यो धेरै स्वतन्त्र अनुमानभन्दा निकै कम हो।

रुसले आफ्ना कति सैनिक मारिएको भन्ने खुलाएको छैन । बिबिसी र स्वतन्त्र मिडियाजोना समाचार संस्थाले शोक सन्देश र पारिवारिक घोषणाहरूलाई सङ्कलन गरी गरेको अध्ययनबाट द्वन्द्वमा मारिएका एक लाख ६० हजारभन्दा बढी रूसी सैनिकहरूको नाम फेला परेको जनाएका छन् ।

युक्रेनको करिब २० प्रतिशत भूभाग रुसले ओगटेको छ । यसले डोनेट्स्क, लुगान्स्क, खेरसोन र जापोरिज्जिया क्षेत्रहरूलाई आफ्नो दाबी गर्दछ र पूर्वमा कम्तिमा तीन अन्य युक्रेनी क्षेत्रहरूमा जमिन नियन्त्रणमा लिएको छ।

मस्कोले फिर्ता लिन माग गरेको डोनेट्स्क क्षेत्रको पाँच भागको एक भाग अझै पनि किएभको नियन्त्रणमा रहेको छ। युक्रेनले जमिन छोड्दा मस्कोको हौसला बढ्ने चेतावनी दिएको छ र उसले रूसलाई फेरि आक्रमण गर्नबाट रोक्न असफल हुने सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ ।