नाइजेरिया । नाइजेरियाको मध्य क्वारा राज्यका दुई गाउँमा मङ्गलबार राति अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ ।
अज्ञात बन्दुकधारीले रातिको समयमा ‘काइमा’ को स्थानीय सरकारको शासन क्षेत्रको वोरो र नुकु समुदायमा आक्रमण गरेका थिए र बुधबार बिहान फर्किएका थिए । उनीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाएर आक्रमण गरेका थिए भने केही घरहरूमा पनि आगजनी गरेका थिए ।
नाइजेरियाली रेडक्रस सोसाइटीका एक अधिकारीले भने, ‘अघिल्लो दिन मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको थियो तर बुधबार दिउँसोसम्म बन्दुकधारीले दोस्रो आक्रमण गरेपछि यो सङ्ख्या बढेर १०० भन्दा बढी पुगेको छ ।’
बाँचेका व्यक्ति र स्थानीय सुरक्षा दलले राज्य सुरक्षा बल आउनुअघि बुधबार खोजी र उद्धार कार्य सुरु गरेका थिए।
क्वारा राज्य सरकारले बुधबार हत्याको निन्दा गरेको छ र यसलाई ‘जारी सुरक्षा अभियानहरूमा आतङ्कवादी समूहहरूको हताश प्रतिक्रिया’ को रूपमा वर्णन गरेको छ।
क्वारा राज्यका गभर्नर अब्दुलरहमान अब्दुलरजाकले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षा निकायलाई त्यस क्षेत्रमा कारबाही बढाउन निर्देशन दिइएको बताएका छन् ।

प्रतिक्रिया