बीबीसी । इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनेईले इरानमाथि अमेरिकाले जस्तोसुकै हमला गरेमा क्षेत्रीय द्वन्द्व फैलने चेतावनी दिएका छन् । इरान आसपास क्षेत्रमा अमेरिकाले सैन्य शक्ति बढाइरहेका बेला खामेनेईको चेतावनी आएको हो ।
‘अमेरिकीहरूले यो कुरा थाहा पाउनुपर्छ कि यदि उनीहरूले युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनेईलाई उदृत गर्दै इरानको अर्धसरकारी समाचारसंस्था तस्निमले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबारे ‘गम्भीर छलफलहरू’मा रहेको भन्दै केही स्वीकार्य सहमतिमा पुग्न सकिने आशा व्यक्त गरेका थिए ।
अर्कोतर्फ इरानका विदेशमन्त्री अब्बास अरागचीले तेहरानका पारमाणविक कार्यक्रमबारे “एउटा सहमति हुनेमा आफू विश्वस्त रहेको“ सीएनएनलाई बताए । पारमाणविक कार्यक्रम तथा सरकारविरोधी प्रदर्शनकारीमाथि गरिएका दमनलाई लिएर इरानमाथि हस्तक्षेप गर्न सक्ने ट्रम्पले चेतावनी दिँदै आएका छन् ।
इरानी विदेशमन्त्री अरागचीले भने, ‘दुर्भाग्यवश वार्ता गर्ने साझेदारका रूपमा अमेरिकामाथि हामीले विश्वास गुमाइसकेका छौँ। तर मित्रवत् राष्ट्रहरूमार्फत् भइरहेका सन्देश आदानप्रदानले वाशिङ्गटनसँग ‘नतिजामुखी’ वार्ताहरूका लागि समन्वय गरिरहेका छन्।’
यसअघि इरानका उच्च सुरक्षा अधिकारी अली लारिजानीले वार्ताका एउटा ढाँचामा प्रगति भइरहेको बताएका थिए। सैन्य शक्ति बढाउने प्रयासअन्तर्गत अमेरिकाले आफ्नो विमानवाहक पानीजहाज ’यूएसएस अब्राहम लिङ्कन’लाई उक्त क्षेत्रमा पठाएको छ र गत सप्ताहान्ततिर अमेरिकी सेन्ट्रल कमान्डले अरेबिअन सागरमा परिचालन भइरहेको बताएको थियो।
यसअघि स्ट्रेट अफ होर्मूजमा इरानले आइतबारबाट दुई दिने प्रत्यक्ष नौसैनिक युद्ध अभ्यास गर्ने बताइएको थियो।
तर एक इरानी अधिकारीलाई आइतवार उदृत गर्दै समाचारसंस्था रोएटर्सले इरानी रेभोल्यूश्नरी गाड्र्स कोर (आईआरजीसी) को कुनै त्यस्तो योजना नरहेको जनाएको छ ।
स्ट्रेट अफ होर्मूज संसारको सबैभन्दा व्यस्त पानीजहाज मार्गमध्ये एक र एउटा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग हो। आफूमाथि आक्रमण गरिएमा स्ट्रेट अफ होर्मूजमा हमला गर्ने इरानले विगतमा चेतावनी दिएका दृष्टान्त छन्।

प्रतिक्रिया