चीनसँग लगानी सम्झौतासहित ‘अझ परिष्कृत सम्बन्ध’ आवश्यकः प्रधानमन्त्री स्टारमर


बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतलाई चीनसँग व्यापारिक सम्बन्ध विस्तार नगर्न चेतावनी दिएका छन् । उता बेलायती प्रधानमन्त्री केइर स्टारमरले भने बेइजिङसँग सम्बन्ध कायम गर्दा आर्थिक लाभ हुने बताएका छन् ।

चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँग भेटपछि स्टारमरले बजार पहुँच सुधार, भन्सार दर घटाउने र लगानी सम्झौतासहित ‘अझ परिष्कृत सम्बन्ध’ आवश्यक रहेको बताएका थिए । भिसा–मुक्त यात्रा र ह्विस्कीमाथिको भन्सार घटाउने सहमतिलाई उनले सम्बन्ध सुधारको महत्वपूर्ण संकेत भनेका छन् ।
वासिङ्टनमा ‘मेलानिया’ फिल्मको प्रिमियरका क्रममा बेलायत–चीन व्यापारबारे प्रश्न सोधिँदा ट्रम्पले भने, ‘त्यो गर्नु उनीहरूका लागि निकै खतरनाक छ।’

स्टारमरले भने बेलायतले अमेरिका र चीनमध्ये एउटै छान्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । अमेरिकासँग रक्षा, सुरक्षा र व्यापारमा निकट सम्बन्ध कायम राख्दै चीनसँग आर्थिक सहकार्य बढाउन सकिने उनको भनाइ छ।

ट्रम्पको भन्सार धम्की र सहयोगी राष्ट्रहरूलाई लक्षित टिप्पणीबीच युरोपका अन्य नेताहरू पनि चीन भ्रमणको तयारीमा छन् । जर्मन चान्सलर फ्रेडरिक मर्ज छिट्टै चीन जाने अपेक्षा गरिएको छ भने ट्रम्प स्वयंले पनि अप्रिलमा चीन जाने बताएका छन्।