संयुक्त राष्ट्रसङ्घ । सिरियामा नाकाबन्दी खुलेपछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा सहायता सामग्री बोकेको २४ वटा ट्रक सिरियाको कोबानी सहरमा प्रवेश गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता निकायका अनुसार उक्त काफिलाले खाद्यान्न, पोषणसम्बन्धी सामग्री, स्वास्थ्य सामग्री, सरसफाइका सामग्री, जाडो मौसमका लागि आवश्यक सामग्री, भान्साका सामग्री तथा बालबालिकाका लागि आवश्यक सामग्री कोबानी सहरमा पुर्याएको हो ।
साथै, दुईवटा इन्धन ट्याङ्करमार्फत पानी केन्द्रमा इन्धन आपूर्ति गरी कोबानी तथा वरपरका गाउँहरूमा पानी आपूर्ति पुनः सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
तर सामग्री बोकेको २४ वटा ट्रक प्रवेश गरेपछि कोबानी वरपरका क्षेत्रमा पुनः झडप सुरु भएको खबर आएको छ । आइतबार घोषणा गरिएको युद्धविराम उल्लङ्घन भएको आरोप कुर्द नेतृत्वको बल र सरकारसमर्थित बलबीच एक–अर्कामाथि लगाइएको छ ।
यसैबीच, सिरियाली सरकारले सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान सहज होस् भनेर थप मार्ग खोल्ने घोषणा गरेको छ र विभिन्न स्थानमा अस्थायी आश्रयस्थल पनि स्थापना गरिएको छ ।
लामो समयदेखि जारी सैन्य कारबाहीका कारण कोबानी सहर अलग्गिएको अवस्थामा थियो । युद्धविरामपछि सहायता सामग्री पुग्न सकेको भए पनि क्षेत्रको सुरक्षा अवस्था अझै अस्थिर रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

प्रतिक्रिया