सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा कर बढाउने घोषणा गरेपछि दक्षिण कोरियाको सरकारले मङ्गलबार आपतकालीन बैठक बोलाएर स्थिति मूल्याङ्कन गरेको छ ।
राष्ट्रपति ट्रम्पले सोमबार दक्षिण कोरियाले वासिङ्टनसँग यसअघि भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै ती सामानहरूमा कर बढाउने बताएका हुन् । उनको घोषणाअनुसार हाल १५ प्रतिशत रहेको कर दर बढेर २५ प्रतिशत पुग्नेछ ।
तर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी पक्षबाट यस्तो कर वृद्धि योजनाबारे आफूहरूलाई पहिल्यै कुनै आधिकारिक सूचना नआएको स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै ‘दक्षिण कोरियाको विधायिकाले अमेरिकासँग गरिएको सम्झौताअनुसार काम गरिरहेको छैन’ भन्ने दाबी गरेका छन् । उनका अनुसार कोरियाली संसद्ले ‘हाम्रो ऐतिहासिक व्यापार सम्झौता लागू नगरेकाले’ उनले कर दर बढाउने निर्णय लिएका हुन् ।
यस घोषणापछि सियोलमा मङ्गलबार आपतकालीन बैठक बसेको थियो । उक्त बैठकमा हाल क्यानाडामा रहेका व्यापार तथा उद्योग मन्त्री किम जङ्ग–क्वान टाढाबाट सहभागी भएका थिए । बैठकपछि जारी गरिएको विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले अमेरिकी पक्षसँग भएको प्रशुल्क सम्झौता कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै शान्त र मापन गरिएको तरिकाले प्रतिक्रिया जनाउने बताएको छ ।
सरकारले वासिङ्टनले घोषणा गरेको कर वृद्धि तत्काल लागू नहुने र सङ्घीय रजिस्टरमा प्रकाशन जस्ता आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र प्रभावमा आउने विश्वास व्यक्त गरेको छ । यसैबीच, दक्षिण कोरियाका व्यापार मन्त्री किम यस विषयमा छलफल गर्न अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकसँग भेटवार्ता गर्न वासिङ्टन जाने तयारीमा छन् ।

प्रतिक्रिया