जेनेभा । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासीहरू बेतत्ता भएको जनाएको छ ।
खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
आइओएमले रिपोर्टहरूको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को पहिलो हप्तामा मात्रै सयौँ मानिसहरू हराएको हुन सक्ने जनाएको छ ।
आइओएमका प्रवक्ता जोर्गे गालिन्डोले दुईवटा जनवरी –२३ मा र एउटा जनवरी २५ मा गरी विगत १० दिनमा तीनवटा डुङ्गा डुबेको रिपोर्ट गरिएको उल्लेख गर्दै दुर्घटनामा १०४ जनाको ज्यान गएको बताए ।
यी डुङ्गाहरू लिबिया र ट्युनिसियाको तटबाट प्रस्थान गरेको आइओएमको अनुमान छ । लगभग ३८० बेपत्ता व्यक्तिहरूको सङ्ख्या अनुमान गर्दै ट्युनिसियाबाट बेपत्ता भएका डुङ्गाहरूको अनुसन्धान गरिरहेको प्रवक्ता अब्देल आजिमलले उल्लेख गरेका छन् ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको बेपत्ता आप्रवासी परियोजनाका तथ्याङ्क विश्लेषक मिरना अब्देल आजिमले यी व्यक्तिहरू जनवरी १४ देखि २१ को बीचमा डुबेका नौवटा विभिन्न डुङ्गाहरूमा रहेको बताए ।
आइओएमले अहिलेसम्म जनवरी –२३ को घटनासँग सम्बन्धित तीन जनाको मृत्यु भएको पुष्टि गर्न सफल भएको उनले बताए ।
आइओएमले आफ्नो चेतावनी दिदै मध्य भूमध्यसागरीय आप्रवासन मार्ग विश्वको सबैभन्दा खतरनाक रहेको र गत वर्ष मात्र यसमा एक हजार ३४० जनाको मृत्यु भएको जनाएको छ ।
बेपत्ता आप्रवासी परियोजनाका अनुसार सन् २०१४ देखि भूमध्यसागरमा ३३ हजार भन्दा बढी आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् ।

प्रतिक्रिया