बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने वस्तुमा भन्सार कर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । गत वर्ष भएको व्यापार सम्झौतामा सोलले अपेक्षित रूपमा पालना नगरेको आरोप लगाउँदै ट्रम्पले कर वृद्धि गर्ने निर्णय लिएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले सवारीसाधन, काठ, औषधि तथा अन्य पारस्परिक भन्सार कर लाग्ने वस्तुमा कर १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाइने उल्लेख गरेका छन्। उनका अनुसार दक्षिण कोरियाली सांसदहरूले सम्झौता अनुमोदन गर्न ढिलाइ गरिरहेका छन्, जबकि अमेरिका भने सम्झौताअनुसार अघि बढिसकेको छ।
दक्षिण कोरियाले भने कर वृद्धिबारे औपचारिक सूचना नपाएको जनाएको छ र यस विषयमा वासिङ्टनसँग तत्काल वार्ता चाहेको बताएको छ। दक्षिण कोरियाका उद्योग मन्त्री किम जुङ–क्वान छिट्टै वासिङ्टन पुगेर अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग भेट गर्ने तयारीमा छन्।
गत अक्टोबरमा सोल र वासिङ्टनबीच भएको सम्झौताअनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। सम्झौता नोभेम्बर २६ मा दक्षिण कोरियाको राष्ट्रिय सभामा पेश गरिएको छ र हाल समीक्षा प्रक्रियामा छ। स्थानीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरीमा पारित हुने सम्भावना छ।
भन्सार कर आयातकर्ता कम्पनीहरूले तिर्नुपर्ने भएकाले यस निर्णयले अमेरिकी कम्पनीहरूको लागत बढ्ने देखिएको छ। ट्रम्पले दोस्रो कार्यकालमा भन्सार करलाई कूटनीतिक दबाबका रूपमा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया