मनिला । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार डुङ्गा डुब्दा कम्तिमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
फिलिपिन्स कोस्ट गार्ड (पिसिजी) का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताएका छन् । पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको पुष्टि गरेका छन् ।
पीसीजी प्रमुख एडमिरल रोनी गिल गावनले मनिलामा पत्रकारहरूसँगको साक्षातकारमा डुङ्गाले आइतबार स्थानीय समय अनुसार बेलुका ९ः२० मा जाम्बोङ्गा सिटी पोर्ट छोडेको बताएका छन् ।
खोजी र उद्धार अभियान जारी रहेको उल्लेख गर्दै डुङ्गाको अधिकतम यात्रु क्षमता ३५० रहेकोमा ३३२ जना यात्रुहरु सवार रहेको गवनले बताए । यस क्षेत्रका सबै उद्धार सामाग्रीहरु उद्धारमा संलग्न रहेको भन्दै पीसीजीले यस घटनामा तुरुन्तै कारबाही गरेको उनले बताएका छन् । उनले डुङ्गा डुब्नुका कारणबारे अझै अनुसन्धान भइरहेको पनि बताएका छन् ।

प्रतिक्रिया