बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड नियन्त्रणमा लिने आफ्नो अडानमा कुनै सम्झौता नहुने संकेत दिएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भने, ‘अब फर्किने कुनै बाटो छैन’ र ‘ग्रिनल्यान्ड अत्यावश्यक छ ।’
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्ड प्राप्त गर्न कति टाढासम्म जान सक्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले ‘तपाईंहरूले थाहा पाउनुहुनेछ’ भन्दै प्रत्यक्ष जवाफ दिएनन् ।
यसैबीच, स्विट्जरल्यान्डमा जारी विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विश्व ‘नियमविहीन दिशातर्फ धकेलिँदै गएको’ चेतावनी दिएका छन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि ‘पुरानो विश्व व्यवस्था अब फर्केर नआउने’ टिप्पणी गरे।
ट्रम्प आज डाभोस पुग्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ ग्रिनल्यान्डसम्बन्धी “धेरै बैठकहरू तय भएको बताएका छन्। लामो पत्रकार सम्मेलनका क्रममा उनले ग्रिनल्यान्डमा सबै कुरा राम्ररी मिल्ने दाबी गरे।
बीबीसीसँगको कुराकानीमा ग्रिनल्यान्डका लागि नाटो गठबन्धन टुट्नु स्वीकार्य मूल्य हो कि होइन भन्ने प्रश्नमा ट्रम्पले ‘नाटोका लागि मभन्दा बढी कसैले योगदान दिएको छैन’ भन्दै ‘नाटो र अमेरिका दुवै खुसी हुनेछन्’ भने। उनले नाटो विश्व सुरक्षाका लागि आवश्यक रहेको पनि बताए।
तर यसअघि ट्रम्पले आवश्यक परेमा नाटोले अमेरिकाको सहयोग गर्ला कि नगर्ला भन्ने विषयमा शंका व्यक्त गरेका थिए। ‘हामी नाटोलाई सहयोग गर्न जानेछौँ, तर उनीहरू हाम्रो सहयोगमा आउनेछन् कि आउँदैनन् भन्नेमा मलाई शंका छ,’ उनले भने। हाल नाटोमा ३२ सदस्य राष्ट्र छन्। अमेरिका १२ संस्थापक राष्ट्रमध्ये एक हो।

प्रतिक्रिया