बेइजिङ । प्राचीन कालदेखि आजसम्म ठूलो जनसङ्ख्या चीनका लागि राष्ट्रिय शक्ति प्रदर्शन गर्ने प्रमुख आधार मानिँदै आएको छ । तर यति ठूलो जनसङ्ख्याको व्यवस्थापन सधैँ चिन्ताको विषय रहँदै आएको छ ।
‘चीनको जनसङ्ख्या ६० करोड छ र यो तथ्य हामीले कहिल्यै बिर्सनु हुँदैन’, अध्यक्ष माओत्सेतुङले सन् १९५७ मा विनाशकारी अनिकाल सुरु हुनुअघि भनेका थिए ।
तर आज चीनको जनसङ्ख्या क्रमशः घट्दै गएको छ, र यही अवस्था नयाँ समस्याको रूपमा उभिएको छ । सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार चीनको जन्मदर सन् १९४९ मा जन गणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून स्तरमा पुगेको छ ।
हाल चीनको कुल जनसङ्ख्या करिब एक अर्ब ४० करोड ४० लाख रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० लाख कम हो ।
विश्लेषकहरूका अनुसार, जनसङ्ख्या व्यवस्थापन चीनका लागि सहस्राब्दी लामो चुनौती रहँदै आएको छ । देशको शक्ति बढाउने र विशाल स्रोतमा निर्भर जनतालाई सन्तुलनमा राख्ने जिम्मेवारी केन्द्र सरकारका लागि अझै जटिल बनेको छ । नीति परिवर्तन, पुस्तागत सोचको फेरबदल र आधुनिक जीवनशैलीका कारण पर्याप्त युवा जनसङ्ख्या तयार नहुने चिन्ता अधिकारीहरूमा बढ्दो छ ।
सन् १९८० को दशकमा औपचारिक रूपमा लागू गरिएको एक सन्तान नीतिको प्रभाव आज पनि स्पष्ट देखिन्छ । बढ्दो जनसङ्ख्या नियन्त्रण गर्न लागू गरिएको उक्त नीतिले धेरै वर्षसम्म चिनियाँ दम्पतीहरूलाई एक मात्र सन्तानमा सीमित गर्यो ।
यसले तत्कालीन आर्थिक दबाब घटाए पनि दीर्घकालमा वृद्ध जनसङ्ख्या बढ्ने, लिङ्ग असन्तुलन सिर्जना हुने र सामाजिक समस्या थपिने जस्ता अनपेक्षित परिणाम निम्त्यायो ।
समयक्रममा चीन ‘धनी हुनुअघि नै बूढो हुँदै जाने’ अवस्थातर्फ उन्मुख भएको सरकारी सञ्चारमाध्यमहरूले समेत स्वीकार गरेका छन् । सन् २०१६ मा ब्रुकिङ्स इन्स्टिच्युसनले एक सन्तान नीतिलाई गलत सार्वजनिक नीतिको महँगो पाठका रूपमा व्याख्या गर्दै यसले सामाजिक र आर्थिक समस्यालाई अझ गहिरो बनाएको उल्लेख गरेको थियो ।
एक सन्तान नीति क्रमशः खारेज भएसँगै राष्ट्रपति सी जिनपिङले जनसङ्ख्यालाई पुनः राष्ट्रिय शक्तिसँग जोडेर व्याख्या गर्न थालेका छन् । उनले ‘एक खर्ब ४० करोड चिनियाँ जनताले बनाएको स्टिलको पर्खाल’ भन्ने अभिव्यक्ति प्रयोग गर्दै ठूलो जनसङ्ख्यालाई देशको सामथ्र्यको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् ।
भारतले सन् २०२३ मा जनसङ्ख्यामा चीनलाई उछिनेपछि यो विषय चीनका लागि अन्तर्राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको छ । यही कारण जन्मदर बढाउन चीनले विभिन्न प्रोत्साहनका उपायहरू अघि सारेको छ । बाल स्याहार केन्द्र, परिवार नियोजन सामग्री र विवाहसम्बन्धी सेवामा कर छुटदेखि लिएर बच्चा जन्माउने र हुर्काउने खर्च घटाउने नीति अपनाइँदैछ ।

प्रतिक्रिया