ढाका । बङ्गलादेशको एक अदालतले सन् २०२४ मा भएको एक वकिलको हत्यालाई लिएर यहाँका एक ख्यातिप्राप्त हिन्दू गुरू चिन्मय कृष्ण दासको मुद्दामा सोमबारदेखि सुनुवाई सुरु गरेको छ।
दासलाई दक्षिणपूर्वी शहर चटगाउँको अदालतमा ल्याइएको थियो, जहाँ उनले हत्याको आरोपलाई अस्वीकार गरेका थिए । उनको सुनुवाईपछि कडा सुरक्षाबीच उनलाई पुनः हिरासतमा फिर्ता लगिएको छ।
उनलाई हिरासतबाट सुनुसवाईका लागि अदालतमा ल्याउने क्रममा बाहिर निकाल्दा दर्जनौं वकिलहरूले उनीविरूद्ध ‘हत्यारा’ भन्दै नारा लगाएका थिए ।
अदालतले दासको जमानत आवेदन अस्वीकार गरेपछि चर्किएको हिंसात्मक अशान्तिको क्रममा भएको यस मुद्दा सन् २०२४ नोभेम्बर २६मा वकिल सैफुल इस्लाम अलिफको हत्यासम्बन्धी रहेको छ ।
अभियोजनकर्ताका वकिल मोहम्मद रैहानुल वाजेदले पत्रकारसँगको प्रतिक्रियामा भने, “यो एक संवेदनशील मुद्दा हो जसले ‘साम्प्रदायिक सद्भाव र राष्ट्रिय सुरक्षा’ लाई छोएको छ।
उनले दास र अन्य ३८ प्रतिवादीहरू, जो सबै प्रभावशाली भिक्षुका अनुयायीहरू हुन्, अलिफको मृत्युको लागि जिम्मेवार रहेको दावी गरे ।
यो मुद्दा मुस्लिम बहुल बङ्गलादेशमा तनावपूर्ण धार्मिक सम्बन्धको प्रतीकका रूपमा देखा परेको छ।
सन् २०२४ अगस्टमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनको अन्त्य भएपछि देशले राजनीतिक अस्थिरताको सामना गरिरहेको छ।
हसिनालाई पदच्युत गरेपछि हिन्दू समुदायमाथि हुने कथित आक्रमण र भेदभावको निन्दा गर्न सम्मिलितो सनातन जागरण जोटेले विभिन्न र्यालीको आयोजना गरेको थियो । दास यस सङ्गठनका प्रवक्ता हुन् ।
बङ्गलादेशमा हिन्दूहरू सबैभन्दा ठूलो धार्मिक अल्पसङ्ख्यक समुदाय अन्तर्गत पर्दछन् । देशको लगभग १७ करोड जनसङ्ख्याको करिब आठ प्रतिशत हिन्दु रहेको तथ्याङ्कबाट देखिन्छ ।
दासलाई सुरुमा सन् २०२४ नोभेम्बरमा चटगाउँमा एक र्यालीको नेतृत्व गरेपछि राजद्रोहको आरोपमा पक्राउ गरिएको थियो, जहाँ उनीमाथि राष्ट्रिय झण्डाको अनादर गरेको आरोप लगाइएको थियो।
उनको हिरासत र त्यसपछि जमानत अस्वीकार गरेपछि विरोध प्रदर्शन सुरु भयो जुन हिंसामा परिणत भयो र यसै क्रममा अलिफको हत्या भएको थियो ।
सन् २०२४ मा भएको विद्रोहपछि मार्च १२ मा हुने पहिलो चुनावको तयारीका क्रममा बङ्गलादेशमा धार्मिक बिषयका बहसहरू चर्किएका छन् ।
सोमबार सार्वजनिक गरिएको प्रहरीको तथ्याङ्कअनुसार गत वर्ष अल्पसङ्ख्यक समूहका सदस्यसँग सम्बन्धित ६४५ घटनामध्ये करिब १२ प्रतिशतलाई साम्प्रदायिक मनसायको रूपमा वर्गीकृत गरिएको थियो।

प्रतिक्रिया