वाशिङटन । युद्धपछिको गाजाका लागि ‘शान्ति समिति’ले शनिबारदेखि आकार लिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल इजिप्ट, टर्की, अर्जेन्टिना र क्यानडाका नेताहरूलाई समितिमा सामेल हुन आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री मार्को रुबियो, बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, अमेरिकी वरिष्ठ कुटनीतिज्ञ जारेड कुश्नर र स्टिभ विटकोफलाई समितिमा समावेश गरेको घोषणा गरेका छन् ।
ट्रम्पले पहिले नै आफूलाई समितिको अध्यक्ष घोषणा गरिसकेका थिए । उनले दुई वर्षभन्दा बढी समय इजरायली बमबारीपछि भग्नावशेषमा रहेको प्यालेस्टिनी क्षेत्रमा आर्थिक विकासको आफ्नै दृष्टिकोणलाई अघि सारेका छन् । यसलाई खाडी मुलुकका साथै कतिपय यूरोपेली सहयोगीलेसमेत विवादास्पद भनेका छन् ।
गाजामा शासन गर्ने प्यालेस्टिनी प्राविधिकको समितिले कायरोमा आफ्नो पहिलो बैठक आयोजना गरेपछि यो कदम चालिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ कुश्नरले समितको बैठकमा भाग लिएका थिए । उनी मुद्दामा महिनौँदेखि अमेरिकी कुटनीतिज्ञ विटकोफसँग सक्रिय रहेका थिए ।
क्यानडामा प्रधानमन्त्री मार्क कार्नीका एक वरिष्ठ सहयोगीले ट्रम्पको निमन्त्रणा स्वीकार गर्न चाहेको बताएका छन् भने टर्कीमा राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रवक्ताले उनलाई बोर्डको ‘संस्थापक सदस्य’ बन्न आग्रह गरिएको बताए ।
इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले कायरोले राष्ट्रपति अब्देल फताह अल–सिसीका लागि गरिएको उक्त अनुरोधबारे अध्ययन गरिरहेको बताए ।
निमन्त्रणा पत्रको तस्बिर साझा गर्दै अर्जेन्टिनी राष्ट्रपति जाभियर माइलीले एक्समा लेखेका छन्, “यो पहलमा भाग लिन पाउनु ‘सम्मान’ हुनेछ।”
बेलायतका पूर्वप्रधानमन्त्री ब्लेयरले विज्ञप्तिमा भनेका छन्, “म राष्ट्रपति ट्रम्पलाई शान्ति समिति स्थापना गर्न उहाँको नेतृत्वका लागि धन्यवाद दिन्छु र यसको कार्यकारी समितिमा नियुक्त हुन पाउँदा सम्मानित महशुस गरेको छु ।
सन् २००३ मा इराकमा भएको आक्रमणमा उनको भूमिकाका कारण ब्लेयर मध्यपूर्वमा एक विवादास्पद व्यक्ति बनेका छन् । राष्ट्रपति ट्रम्प आफैंले गत वर्ष भनेका थिए, “उहाँ ब्लेयरलाई ‘सबैका लागि स्वीकार्य छनौट’ सुनिश्चित गर्न चाहनुहुन्छ।
ब्लेयरले सन् २००७ मा डाउनिङ स्ट्रिट छोडेपछि संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र रूसको प्रतिनिधिको रूपमा इजरायल–प्यालेस्टाइन मुद्दामा ध्यान केन्द्रित गरेका थिए ।
ह्वाइट हाउसले भनेको छ, “शान्ति समितिले ‘शासन क्षमता निर्माण, क्षेत्रीय सम्बन्ध स्थापना, संरचनाको पुनर्निर्माण, लगानी आकर्षण, ठूलो मात्रामा कोष र पूँजी परिचालनजस्ता मुद्दाहरू उठाउनेछ।”
समितिका अन्य सदस्यमा भारतीय मूलका अमेरिकी व्यापारी तथा विश्व बैङ्कका अध्यक्ष अजय बङ्गा, अर्बपति अमेरिकी फाइनान्सर मार्क रोवन र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्मा ट्रम्पका बफादार सहयोगी रोबर्ट गेब्रियल छन् ।
ट्रम्पले दोस्रो ‘गाजा कार्यकारी समिति’ सिर्जना गरेको र यसलाई अधिक सल्लाहकारको भूमिकाको लागि बनाइएको देखिन्छ।
प्रत्येक समितिमा कुन विश्व नेतालाई समावेश गर्न भनिएको थियो भन्ने तत्काल स्पष्ट भएको छैन।
ह्वाइट हाउसले शुक्रबार दुबै संस्थाहरूमा थप सदस्यहरूको नाम दिइने बताएपनि कसलाई प्रस्ताव गरिएको छ भन्ने अनुरोधमा तुरुन्त जवाफ दिएन।

प्रतिक्रिया