वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा विलय गर्ने योजनामा साथ नदिने देशहरूमाथि भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् ।
ह्वाइट हाउस बैठकमा उनले राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्याण्ड आवश्यक रहेको भन्दै आवश्यक परे ‘सजिलो वा कठोर’ उपाय अपनाउने संकेत गरे ।
डेनमार्क र ग्रिनल्याण्डसहित धेरै देशहरूले योजनाको विरोध गरेका छन । यसैबीच अमेरिकी संसदीय प्रतिनिधिमण्डल ग्रिनल्याण्ड पुगेर समर्थन जनाएको छ।
अमेरिकी संसदीय प्रतिनिधिमण्डलको यो भ्रमण, वाशिङ्टनमा भएको उच्चस्तरीय वार्ताले ट्रम्पलाई आफ्नो योजनाबाट पछि हटाउन नसकेको केही दिनपछि भएको हो । उक्त समूहमा नाटोका कट्टर समर्थक सिनेटर र प्रतिनिधि सभा सदस्यहरू छन् ।
युरोपेली राष्ट्रहरूले डेनमार्कको पक्ष लिँदै आर्कटिक सुरक्षा नाटोको साझा जिम्मेवारी हुनुपर्ने बताएका छन् । युरोपेली सहयोगी राष्ट्रहरूले डेनमार्कको समर्थन गरेका छन्। उनीहरूले आर्कटिक क्षेत्र सबैका लागि समान रूपमा महत्वपूर्ण रहेको र यसको सुरक्षा नाटोको साझा जिम्मेवारी हुनुपर्ने बताएका छन्।
यसैक्रममा फ्रान्स, जर्मनी, स्वीडेन, नर्वे, फिनल्याण्ड, नेदरल्यान्ड्स र बेलायतसहितका देशहरूले ‘टोही मिसन’ का रूपमा ग्रिनल्याण्डमा थोरै संख्यामा सैनिक पठाएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंले ‘स्थल, हवाई र समुद्री साधनहरू’ चाँडै पठाइने बताएका छन् ।

प्रतिक्रिया