युक्रेनले ९० अर्ब युरो ऋण सैन्य आवश्यकतामा खर्च गर्ने ईयूको घोषणा


ब्रसेल्स । युक्रेनका लागि युरोपेली सङ्घको महत्त्वपूर्ण ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋणको दुई तिहाइ रकम किएभको सैन्य संयन्त्रलाई सम्बोधन गर्न खर्च गरिने बताइएको छ । बाँकी सामान्य बजेटको लागि छुट्याइएको ब्रसेल्सले जानकारी दिएको छ ।

महिनौँको कूटनीतिक विवादपछि डिसेम्बरमा इयू सदस्य राष्ट्रहरूले सैन्य संयन्त्रका लागि खर्च गर्न सहमति जनाएका थिए । यो ऋणले नगदको अभाव भएको युक्रेनलाई अत्यन्त आवश्यकीय सैन्य खर्च व्यवस्थापनका लागि सहयोग प्रदान गर्नेछ। रूसले छिमेकी युक्रेनमाथि सुरू गरेको आक्रमण आफ्नो पाँचौं वर्षतिर लम्किरहेको छ।

इयूकी प्रमुख उर्सुला भोन डेर लेयनले पत्रकारहरुसँग भनिन्, “यो सहयोगबाट हामी यो सुनिश्चित गर्छौं कि युक्रेनले एकातिर युद्धको मैदानमा आफ्नो प्रतिरक्षा बलियो बनाउन सकोस् र आफ्नो सैन्य क्षमतालाई बलियो बनाउन सकोस् र अर्कोतर्फ राज्य र आधारभूत सेवालाई सुचारु राख्न सकोस् ।”

भोन डेर लेयनले भनिन्, “फ्रान्स र अन्य केही मुलुकले लामो समयदेखि इयूको रक्षा उद्योगलाई बलियो बनाउन र संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न महत्त्वपूर्ण रहेको बताएका समय यो कोष मुख्यतया युक्रेन र युरोपेली देशहरूबाट हतियार किन्न प्रयोग गरिनेछ।”

“यदि आवश्यक उपकरणहरू युरोपमा सजिलैसँग उपलब्ध नहुने भएमा किएभको लागि कहिलेकाँही यूरोप बाहिर किनमेल गर्न सम्भव हुनेछ,” आयोगका अध्यक्षले भनिन् ।

“हाम्रो लागि यो धेरै पैसा हो। यो अर्बौं र अर्बौं लगानी भइरहेको छ। यी लगानीहरूले रोजगारी सिर्जना गर्न, अनुसन्धान र विकास सिर्जना गर्न लगानीमा प्रतिफल पाउनुपर्छ,” उनले भनिन् ।

आगामी दुई वर्षका लागि युक्रेनको वित्तीय आवश्यकताको दुई तिहाइ पूरा गर्ने ऋणलाई युरोपेली संसद र सदस्य राष्ट्रहरूले भुक्तानी गर्न सुरु गर्नु अघि अनुमोदन गर्नुपर्नेछ।

रुसी केन्द्रीय बैंकको सम्पत्ति रोक्का गर्ने योजना असफल भएपछि गत महिना युरोपेली सङ्घका नेताहरूले इयूको साझा बजेटद्वारा समर्थित ऋणमा सम्झौता गरेका थिए । ब्रसेल्सले ईयूको बजेटमार्फत प्रति वर्ष लगभग तीन अर्ब युरो ब्याजको लागत बेहोर्ने छ।