इरानका हिंसाप्रति तत्काल कदम चाल्ने ईयू प्रमुखको भनाई


ब्रसेल्स । ईयू प्रमुख उसुला भोन देर लेयनले इरानमा प्रदर्शनमाथि भएको दमनका कारण बढ्दो हताहतप्रति ब्रसेल्सले छिटो नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने तयारीमा रहेको बताएकी छन् ।

भोन देर लेयनले अनलाइन पोष्टमा लेखेकी छन्,’इरानमा हताहतको सङ्ख्या निकै दुःखद छ । म अत्यधिक बल प्रयोग र स्वतन्त्रताको निरन्तर सीमितकरणको स्पष्ट रूपमा निन्दा गर्दछु ।’

उनले भनिन्,’दमनमा संलग्न व्यक्तिहरूमा थप प्रतिबन्ध प्रस्ताव गर्न हामी छिटो पहल गर्नेछौं ।’
ईयूले इरानी जनताद्वारा गरिएका राष्ट्रिय प्रदर्शनलाई सम्मान र समर्थन जनाएको छ । यी प्रदर्शनहरू १९७९ को इस्लामिक क्रान्ति पछिको धर्मगुरु नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक मानिन्छ ।

ईयूले पहिल्यै पनि विगतका प्रदर्शनमाथि दमन र तेहरानको रूसको युक्रेन युद्धमा समर्थनको कारण सयौं इरानी अधिकारीमाथि प्रतिबन्ध लगाइसकेको छ ।

इरानको रिभोलुसनरी गाड्र्सलाई ‘आतङ्कवादी’ सङ्गठनको रूपमा घोषणा गर्न केही प्रस्ताव उठेका छन्, तर ब्रसेल्सले अहिलेसम्म कानुनी आधार नभएको स्पष्ट पारेको छ ।

भोन देर लेयनले भनिन्,’रिभोलुसनरी गाड्र्सलाई मानवअधिकार उल्लंघनको कारण ईयूले पहिले नै सम्पत्ति रोकथाम र भिसा प्रतिबन्धको सूचीमा राखिसकेको छ ।’