इरानमा प्रदर्शन थप चर्किँदै, पाँच सय भन्दाबढीको मृत्यु


तेहरान । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५०० नाघेको एक अधिकार समूहले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको पक्षमा हस्तक्षेप गर्ने चेतावनी दिएपछि तेहरानले अमेरिकी सैन्य अड्डालाई निशाना बनाउने चेतावनीसमेत दिएको छ ।

अमेरिकास्थित अधिकार समूह एचआरएएनएका अनुसार इरानभित्र र बाहिरबाट संकलित पछिल्ला तथ्यांकले ४९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारीको मृत्यु पुष्टि गरेको छ । दुई साताको अशान्तिमा १० हजार ६०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

इरान सरकारले मृतक संख्याबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन। रोयटर्सले पनि ती तथ्यांक स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

यसैबीच, वाल स्ट्रिट जर्नलका अनुसार राष्ट्रपति ट्रम्पलाई मंगलबार इरानसम्बन्धी विकल्प—सैन्य कारबाही, गोप्य साइबर हतियार प्रयोग, प्रतिबन्ध विस्तार तथा सरकारविरोधी स्रोतलाई अनलाइन सहयोग—बारे ब्रिफिङ गरिनेछ।

इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले वाशिङ्टनलाई ‘गलत गणना’ नगर्न चेतावनी दिँदै इरानमाथि आक्रमण भए इजरायलसहित सबै अमेरिकी अड्डा र जहाज निशाना हुने बताएका छन्।