वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस पहिले नै पोस्ट भएको ‘क्युबाका आप्रवासी अभिभावकबाट जन्मेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई क्युबाको नयाँ राष्ट्रपति बन्ने सुझाव दिएको’ सन्देशलाई पुनः पोस्ट गरेका छन् ।
ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जनवरी ८ मा एक्स प्रयोगकर्ता क्लिफ स्मिथले पोस्ट गरेको सन्देश पुनः प्रकाशित गरेका हुन् । उन्मात्त हासोका क्रममा आसु झरिरहेको सङ्केत गर्ने ‘इमोजी’सहित गरिएको पोस्टमा लेखिएको छ, “मार्को रुबियो क्युबाको राष्ट्रपति हुनुहुनेछ।”
पुनः पोस्ट गरेको आफ्नै पोस्टमा टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, “मलाई राम्रो लाग्छ!”
ठूलो मात्रामा अज्ञात प्रयोगकर्ता रहेको र ‘कन्जरभेटिभ क्यालिफोर्नियाली’ को रूपमा चिनिने एक्समा ५०० भन्दा कम अनुयायी भएका स्मिथले यो पोस्टलाई केही दिन पहिले पोस्ट गरेका थिए ।
भेनेजुएलाका पूर्व नेता निकोलस मदुरोलाई अमेरिकी सेनाले काराकासमा रातारात गरेको कारबाहीमा दर्जनौं भेनेजुएला र क्युवाली सुरक्षा बलको मृत्यु भएको एक हप्तापछि ट्रम्पले स्मिथको सन्देश पुनः पोस्ट गरेका हुन् ।
क्युबाको कम्युनिस्ट सरकारले अमेरिकी नागरिकले क्युवामा शासन गर्न सक्ने अमेरिकी राष्ट्रपतिको उत्तेजक सुझावलाई लिएर प्रत्यक्ष प्रतिक्रिया दिएको छैन।
ट्रम्पको पोस्टको केही समयपछि क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले सामाजिक सञ्जाल एक्समा लेखेको पोस्टमा ‘अधिकार र न्याय क्युबाको हातमा छ’ भनेका छन् ।

प्रतिक्रिया