हमास आफ्नो सरकारी निकाय विघटन गर्न तयार


गाजा । हमासले गठन भइरहेको एक स्वतन्त्र प्रशासनिक समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकायहरू विघटन गर्ने निर्णय गरिएको घोषणा गरेको छ ।

हमासका प्रवक्ता हाजेम कासेमले एक वक्तव्यमा गाजामा सबै सरकारी संस्थाहरूको विघटन गर्ने र उनीहरूको जिम्मेवारी एक स्वतन्त्र प्राविधिकहरूको समितिलाई हस्तान्तरण गर्ने ‘स्पष्ट निर्णय’ गरेको बताएका छन् ।

बिहीबार कासेमले हमास र अन्य प्यालेस्टिनी समूहबीच भएको सम्झौतापछि गाजा पट्टीमा विभिन्न क्षेत्रहरूको व्यवस्थापनका लागि जिम्मेवार समितिको औपचारिक घोषणाको पर्खाइमा रहेको बताएका थिए ।

बीस लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको गाजामा सन् २००७ देखि वेस्ट बैङ्कको सञ्चालन गर्ने फताहसँगको लडाइपछि गाजाका सरकारी संस्थाहरू हमासको नेतृत्वले सञ्चालन गर्दै आएको छ ।

हमासभित्रका स्रोतका अनुसार कायरोले अर्को हप्ता इजरायलसँग युद्धविराम सम्झौताको दोस्रो चरणको बारेमा छलफल गर्न र प्रशासनिक समितिका सदस्यहरूमा सहमतिलाई अन्तिम रूप दिन हमासको प्रतिनिधिमण्डललाई आमन्त्रण गर्ने कार्यक्रम छ ।

हमास र इजरायलबीच सन् २०२५ को अक्टोबरदेखि युद्धविराम जारी छ । यसको पहिलो चरणमा कैदी र बन्दीहरूको आदानप्रदान, मानवीय सहायताको प्रवेश र गाजा पट्टीका केही क्षेत्रहरूबाट इजरायली सेनाको आंशिक फिर्ती भएका छन् ।

प्रस्तावित दोस्रो चरणमा गाजाबाट पूर्णरूपमा सैन्य फिर्ती, हमासको निशस्त्रीकरण, ठूलो मात्रामा पुनर्निर्माण र क्षेत्रकोे प्रशासन गर्न सङ्क्रमणकालीन प्रशासनिक निकायको गठनबारे सहमति गरिनेछ।

डिसेम्बर २०२५ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चरणको द्रुत कार्यान्वयनका लागि दबाब दिन चाहेको बताउनुभएको थियो र सम्झौतालाई अगाडि बढाउनका लागि हमासको निशस्त्रीकरण एक प्रमुख शर्त हो भन्ने कुरामा जोड दिएका थिए ।